बाध्यताले रोजगारीका लागि विदेश जानु पर्दैन, सरकारले छिट्टै अन्त्य गर्दैछः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाध्यताका कारण युवा जनशक्ति रोजगारीका लागि विदेश जान नपर्ने बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘छनोटको हिसाबले जाने कुरा बेग्लै हो, तर अब बाध्यताका कारण अब रोजगारीका लागि विदेश जानु पर्दैन ।’

प्रधानमन्त्री ओलीले सरकारले युवाहरुलाई अभिभावकत्व प्रदान गर्न, साथ सहयोग दिने, अवसर उपलब्ध गराउन दत्तचित्त भएको समेत स्पष्ट पारे ।

‘युवा जनशक्तिको करिब २५ प्रतिशत देशबाहिर जाने त्यसमध्ये केही अध्ययन र केही रोजगारीका लागि जाने गरेका छन् । रोजगारीका लागि जानेको संख्या २६ लाख छ । ३ करोडभन्दा कम जनसंख्या भएको देशबाट २६ लाख युवा जनशक्ति रोजगारीका लागि विदेश जानु अवश्यक पनि खुसीको कुरा होइन । त्यसै कारण हामीले यस दिशामा ठोस प्रयास अगाडि बढाएका छौं । केही वर्षभित्र रोजगारीका लागि विदेश जानु पर्दैन, यसको हामीले अन्त्य गर्दैछौं,’ सम्बोधनमा क्रममा प्रधानमन्त्री ओलीले भने ।

उनले युवाको नीति निर्माण तहमा समेत सहभागिता भएको बताए ।

‘हाम्रो सामाजिक जागरणको क्षेत्र, नीति निर्माणका क्षेत्रमा युवाहरुको समानुपातिक सहभागिता छ । ४० प्रतिशत युवाहरु स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका छन्, त्योभन्दा केही सानो संख्या प्रदेश र त्योभन्दा केही सानो संख्याले केन्द्रीय तहमा प्रतिनिधित्व गरिरहेका छन्,’ उनले भने ।

उनले उर्जाले भरिएको युवा उमेर विदेशमा गएर बिताउनु नपरोस भन्नेमा आफू सचेत रहेको भन्दै नेपाललाई आत्मनिर्भर, बस्न लायकको देश बनाउँदै विदेशका हरेक कुनाका मानिसका नेपाल आउन आकर्षित गर्ने बताए ।

उनले नेपाल प्राकृतिक गुणले, सुन्दरताले भरिपूर्ण भएको, स्रोत साधनले भरिपूर्ण भएको भन्दै नेपाल जस्तो देश गरिब भइराख्नु आफूलाई अस्वीकार्य भएको बताए । उनले त्यसका लागि अब आगामी दिनमा नेपालको विकास गर्नका लागि सरकारले त्यसतर्फ पनि काम गर्ने बताए ।


क्लिकमान्डु