विद्युत बिक्रीको आम्दानी घटेपनि चिलिमेको नाफामा सामान्य सुधार



काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा ७४ करोड ८० लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ७४ करोड ६२ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा विद्युत बिक्रीबाट १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब १७ करोड ४ लाख ३२ हजार रुपैयाँ रहेको रहेको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आर्जन घटेसँगै नाफामा पनि अपेक्षा अनुसार सुधार हुन सकेको छैन ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ १० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ रहेको छ ।

चिलिमेका सहायक कम्पनीहरु साञ्जेन, रसुवागढी र मध्ये भोटेकोशी निर्माणधिन अवस्थामा रहेका छन् । ती आयोजना सम्पन्न नहुँदासम्म कम्पनीको नाफामा अपेक्षा अनुसार सुधार आउन नसक्ने देखिन्छ ।

कुनै समय नेपालको सेयर बजारको ‘ब्लू चिप्स’ मानिएको चिलिमे कम्पनी यतिबेला अरु सामान्य कम्पनी जस्तै अवस्थामा पुगेको छ । त्यसको पछाडी कम्पनीको नाफा घट्दै जानु, अन्य आयोजनामा लगानी हुनु तर प्रतिफल भने आउन समय लाग्नु जस्ता कारण देखिन्छन ।


क्लिकमान्डु