सुशील भट्टलाई तत्काल काम गर्न नदिनूः उच्च अदालत पाटन, ‘एमिकस क्युरी’ झिकायो



काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टलाई तत्काल काम गर्न नदिनु भन्दै सरकारका नाममा आदेश जारी गरेको छ ।

मंगलबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सवेदीको एकल इजलासले साउन ३२ गते आइतबारसम्म उक्त निर्णय कार्यान्वयन गर्न नदिनु भन्दै आदेश जारी गरेको हो ।

साथै भट्टलाई समेत सीइओको हैसियतमा काम नगर्न आदेश दिएको छ ।

साथै अदालतले विपक्षीसहित छलफल गर्नु पर्ने भएको भन्दै यस सम्बन्धमा छलफल गर्नका लागि उच्च अदालत पाटनको बारलाई समेत २ जना ‘एमिकस क्युरी’ पठाइदिनका लागि पत्र पठाएको अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

भट्टलाई गत साउन १९ गते बसेको मन्त्रिपरिषदको बैठकले लगानी बोर्डको सीइओमा नियुक्ती गरेको थियो ।

उक्त नियुक्ती विरुद्ध अधिवक्ता जयबहादुर भुजेलले पाटन अदालतमा रिट निवेदन दर्ता गराएका थिए । रिटमा नियुक्ती सम्बन्धि निर्णय कार्यान्वयन गर्न नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।


क्लिकमान्डु