चौधरी फाउण्डेसनले दियो स्वास्थ्य मन्त्रालयलाई दियो ८ वटा भेन्टिलेटर



काठमाडौं । चौधरी फाउण्डेसनले कोभिड-१९ का गम्भीर बिरामीका लागि अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरे ।

कोभिड–१९ का गम्भीर बिरामीको संख्या वृद्धि भएसँगै अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरको अभाव भइरहेको छ । फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, वाग्मती र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारसँगको समन्वयमा अस्पताललाई उपलब्ध गराउनेछ ।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाका गम्भीर बिरामीको संख्या बढिरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गरे ।

‘फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पुर्याएको हाम्रो स्मरणमा रहेको छ,’ मन्त्री ढकालले भने ‘कोभिड-१९ पछि फाउण्डेसनले पीपीइ, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा पुर्याएको यो सहयोग अतुलनीय छ ।’

फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोरोनाका गम्भीर विरामीलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताए । उनले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गरे ।

कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउण्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको छ । पहिलो चरणमा पूर्वदेखि पश्चिमका ४८ वटा अस्पताल एवं स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि पीपीई, एन-९५ मास्कलगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो ।

दोस्रो चरणमा चौधरी फाउण्डेसनले कोभिड-१९ को परिक्षण किट सहयोग गरेको थियो । फाउण्डेसनले १ हजार थान ‘पीसीआर रिएजेन्ट’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।

त्यस्तै, तेश्रो चरणमा फाउण्डेसनले अति संवेदनशील कर्णाली, सुदुरपश्चिम र प्रदेश नं. २ मा स्वास्थ्य सामग्री वितरण गरेको थियो ।


क्लिकमान्डु