बैंकहरुमा कर्जाको माग बढ्यो, ३ सातामा नै ४ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह



काठमाडौं । बैंकहरुमा लामो समयसम्म सुस्ताएको कर्जाको माग पुनः बढ्न थालेको छ । फागुनयता लकडाउनका कारण बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह नकारात्मक दिशातर्फ गएको थियो ।

लकडाउन खुला भएसँगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । साउनयता सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सरकारले साउन ६ गते लकडाउन खुला गरेको हो । साउनको पहिलो साता बैंकहरुले ३४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २८ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार साउन २३ गतेसम्म बैंकहरुले ३४ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २८ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

बैंकहरुले साउनको ४ गतेसम्म २८ खर्ब ६७ अर्ब रुपैयाँ र साउन १६ गतेसम्म २८ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यस्तै, साउन दोस्रो साताको भन्दा निक्षेप संकलन भने घटेको छ । साउन १६ गतेसम्म ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन २३ गतेसम्म बैंकहरुमा ११ अर्ब रुपैयाँले घटेर ३४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु