नागरिक लगानी कोषको नाफा १७ % ले बढ्यो
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो आवको चौथो त्रैमासको तुलनामा १७.३६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ४६ करोड २३ लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो आवको चौथो त्रैमासमा १ अर्ब १० करोड २३ लाख रुपैयाँ सेयर पुँजी रहेको कोषको गत आवको सोही अवधिमा आईपुग्दा १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ रहेको छ ।
कोषको जगेडा कोष ७ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ५ अर्ब ८१ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
कोषले गत आवको चौथो त्रैमाससम्ममा मुद्दति निक्षेपमा ८९ अर्ब ६९ करोड ५७ रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १० अर्ब ७८ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै सरकारी ऋणपत्रमा ६० करोड रुपैयाँ लगानी रहेको छ ।
कोषले १ खर्ब ४६ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिसेयर आम्दानी ३३ रुपैयाँ रहेको कोषको प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ रहेको छ ।