टाटाका कार किन्दा एनआईसी एशिया बैंकबाट कर्जा लिए ६ महिनासम्म किस्ता तिर्न नपर्ने
काठमाडौं । एनआईसी एशिया बैंकबाट कर्जा लिएर टाटा ब्राण्डका गाडी खरिद गर्ने ग्राहकले ६ महिनासम्म किस्ता तिर्नु नपर्ने भएको छ । बैंकले यसअघि सार्वजनिक गरेको ‘सुपर चमत्कारिक’ योजनामा सहभागी ग्राहकलाई सो सुविधा दिने घोषणा गरेको हो ।
जसका लागि बैंकले सिप्रदी ट्रेडिङ प्रालिसँग फाइनान्सिङ पार्टनर बनाउने सम्बन्धी सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीको तर्फबाट उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन् ।
यससँगै उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज हुने विस्वास बैंकको छ । साथै बैंकको सुपर चमत्कारिक सवारी कर्जामार्फत सिप्रदी ट्रेडिङ प्रालिद्वारा बिक्री गरिने टाटा ब्राण्डका कार खरिद गर्दा ग्राहकले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा रहेको छ ।
यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै थप सुविधा बैंकले दिएको छ ।
जसमा २ लाख रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहकले २ दिनमा नै लिन सक्ने बैंकले जनाएको छ ।
बैंककाअनुसार ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन हुँदैन ।
एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।