हिमालयन बैंकले सेयरधनी र निक्षेपकर्तालाई भन्यो- २० वर्षदेखिको लाभांश लिन एक महिनाभित्र आउनु



काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई एक महिनाभित्र आफूले लिनुपर्ने लाभांश लिन आग्रह गरेको छ । बैंकले सूचना जारी गर्दै विगत २० वर्षयता नगद लाभांश लिन नआएका ग्राहकलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह गरेको हो ।

बैंकका अनुसार आर्थिक वर्ष २०५०/५१ देखि आव २०७१/०७२ सम्म लगानीकर्ताले १ करोड ८१ लाख ४ हजार ७२१ रुपैयाँ लाभांश लैजान बाँकी रहेको जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०५०/५१ देखि नै सेयरधनीलाई लाभांश वितरण गदै आएको थियो । कतिपय लगानीकर्ताहरुले अहिलेसम्म पनि लाभांश वा बोनस सेयर लिन नआएको जनाएको छ ।

यस्तै लगानीकर्ताले बैंकलाई उपलब्ध गराएको ठेगानामा लाभांश पुर्जा तथा बोनस सेयर पठाँउदा सम्बन्धित व्यक्ति फेला नपरेको र ठेगाना स्पष्ट नभएको कारण बैंकमा नै फिर्ता आएको जनाएको छ ।

अहिलेसम्म पनि आफ्नो बोनस तथा लाभांश नपाएका लगानीकर्ता तथा सेयरधनीलाई आफ्नो परिचयपत्र वा सेयर प्रमाणपत्र लिएर एक महिनाभित्र ठमेलमा रहेको हिमालयन क्यापिटलमा सम्पर्क गर्न भनिएको छ ।

बैंकमा विभिन्न मितिमा चल्तीमा तथा बचत निक्षेप खाता खोली विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि ती खाता सञ्चालन नगरेका निक्षेपकर्तालाई आफ्नो खाता समयमा नै नियमित गरराउन समेत आग्रह गरेको छ ।

बैंकका अनुसार १० वर्ष वा सोभन्दा लामो समयदेखि सञ्चालनमा नरहेका निष्कृय खाताहरु तथा ५ वर्ष वा सोभन्दा बढी समयदेखि लाभांश रकम÷ लाभांश पुर्जा नलिएका सेयरधनीको नाम बैंकले वेबसाइटमार्फत् सार्वजनिक गरेको समेत जानकारी गराएको छ ।


क्लिकमान्डु