अन अराइभल भिसामा रोक लगाउने गृहको प्रस्ताव



काठमाडौं । गृह मन्त्रालयले तत्कालका लागि अन अराइभल भिसामा रोक लगाउने प्रस्ताव गरेको छ ।

बिहीबार बसेको पर्यटन, स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयका मन्त्री, सचिव तथा विभागीय प्रमुखहरुको बैठकमा गृह मन्त्रालयले तत्कालका लागि अन अराइभल भिसा नदिने प्रस्ताव गरेको पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरी मन्त्रिपरिषदले त्यसको कार्यविधि बनाउनका लागि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो । पर्यटन मन्त्रालयले तयार पारेको कार्यविधिको मस्यौदाबारे छलफल गर्नका लागि बिहीबार बैठक बोलाइएको थियो ।

‘आज मन्त्रिज्यू, सचिवज्यू र अन्य विभागीय प्रमुख सम्मिलित बैठकमा भएको छलफलमा अन अराइभल भिसा रोक्ने विषयमा छलफल भएको हो, सम्भवतः शुक्रबार र शनिबारसम्ममा निर्णय हुन सक्छ,’ बैठकमा सहभागी एक अधिकारीले भने ।

उनका अनुसार कोरोनाको जोखिम बढ्दै गएपछि तत्काल नियमितरुपमा उडान गर्ने विषयमा छलफल भएको थियो । शुरुमा अन्तर्राष्ट्रिय उडान २५ प्रतिशत मात्रै गर्ने विषयमा छलफल भए पनि यसबारेमा पनि निर्णय भइनसकेको उनले जानकारी दिए ।

‘चैतको पहिलो सातासम्म दैनिक औसतमा १५ हजार आउने र १५ हजार जाने हुन्थ्यो, तर यस्तो अवस्थामा शुरुमा २५ प्रतिशत यात्रुलाई मात्रै सेवा दिने विषयमा छलफल भएको छ, निर्णय भएको छैन,’ ती अधिकारीले भने ।

अहिलेको अवस्थामा नेपालमा पर्यटक ल्याएर १४ दिनसम्म क्वारेन्टिमा राख्न सकिन्छ वा सकिन्न भन्ने विषयमा समेत छलफल भएको उनले बताए । उनका अनुसार पर्यटकलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्न सकिन्न भने ल्याउनुको औचित्य नभएको विषयमा बैठकमा छलफल भएको थियो ।

छलफलमा अनअराइभल भिसा रोक्ने विषयमा छलफल भए पनि गैरआवासीय नेपाली नागरिकहरुलाई भने भिसा उपलब्ध गराउन सकिने विषयमा समेत छलफल भएको थियो ।

अहिले पनि अन अराभइल भिसामा रोक लगाइएको छ ।

यसअघि बिहीबार नै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले समेत यस्तो जोखिम बढिरहेको अवस्थामा अति उदार भएर हवाई उडान, लामो दूरीका सार्वजनिक यातायात र विद्यालय खोल्ने परिस्थिति नभएको बताएका थिए ।


क्लिकमान्डु