राष्ट्र बैंकले निर्देशन दिए पनि यी उद्योग व्यवसायले ब्याज छुट पाएनन्



काठमाडौं । कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यून गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याज छुट दिए पनि केही बैंक तथा वित्तीय संस्थाहरुले भने ऋणीलाई दिनुपर्ने छुट नदिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले दिएको वित्तीय राहत कोरोना प्रभावित ७१.५५ प्रतिशत उद्योगी व्यवसायी उपयोग नै गर्न पाएनन् । भने ११.१३ प्रतिशत उद्योगी व्यवसायीको कर्जामा बैंक तथा वित्तीय संस्थाले ब्याज छुट लागू नहुने बताए ।

नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा सर्वेक्षण गरेको थियो । जसमा ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीहरु सहभागी भएका थिए । सहभागी उद्योगी व्यवसायीले दिएको विवरणअनुसार नेपाल राष्ट्र बैंकको निर्देशनअनुसारको ब्याज छुट १७.३२ प्रतिशत उद्योगी व्यवसायीले मात्र पाएका हुन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार चैत महिनामा किस्ता ब्याज भुक्तानी गर्ने ऋणीलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिनुपर्ने थियो । साथै, बैशाख १६ गतेको राष्ट्र बैंकले जारी गरेको निर्देशनमा असार मसान्तसम्म २ प्रतिशत ब्याज छुट दिने उल्लेख छ । तर निर्देशनअनुसार सबैभन्दा बढी ८३.३३ प्रतिशत खानी तथा उत्खनन व्यवसायीले पाएका छैनन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणको प्रतिवेदनअनुसार विद्युत्, ग्याँस तथा पानी व्यवसायीमध्ये ६५ प्रतिशतले ब्याज छुट पाएनन् भने २५ प्रतिशतलेमात्र पाएका छन् । यस्तै होटल तथा रेष्टुराँ व्यवसायीमध्ये ७१.३० प्रतिशतले ब्याज छुट पाएनन् । साथै २.७८ प्रतिशत व्यवसायीलाई बैंकले छुट दिनै मानेनन् भने २५.९३ प्रतिशत व्यवसायीले मात्र छुट पाएका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार छुट नपाउने व्यवसायीमा निर्माण ७०.८३ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्यहरु ७६.९२ प्रतिशत, शिक्षा ६८.०९ प्रतिशत, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु ५५.५६ प्रतिशत, सञ्चार ६३.६४ प्रतिशत, थोक तथा खुद्रा व्यापार ७२.५२ प्रतिशत, उत्पादन मुल्क उद्योग ७०.९४ प्रतिशत, कृषि, वन तथा मत्स्यपालन ६४.८६ प्रतिशत र अन्य क्षेत्रका ६९.६२ प्रतिशत उद्योगी व्यवसायी ब्याज छुट नपाएका हुन् ।

यसैगरी, राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले औषतमा ११.१३ प्रतिशत उद्योगी व्यवसायीको कर्जामा ब्याज लागू नगरेका हुन् । जसमा ९.४० प्रतिशत उत्पादनमूलक उद्योग, ४.१७ प्रतिशत निर्माण, १२.६४ प्रतिशत थोक तथा खुद्रा व्यापार, २.७८ प्रतिशत होटल तथा रेष्टुरेष्ट, ११.७६ प्रतिशत यातायात तथा भण्डारण र सञ्चार क्षेत्रका ३६.३६ प्रतिशत व्यवसायीको कर्जामा बैंक तथा वित्तीय संस्थाले ब्याज छुट लागू नहुने बताएका हुन् ।

यसैगरी, उद्योगी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले दिनुपर्ने ब्याज छुटमा रियल स्टेट, २२.२२ प्रतिशत भाडा तथा व्यावसायिक क्रियाकलापहरु, १४.८९ प्रतिशत शिक्षा, ७.३९ प्रतिशत स्वास्थ्य तथा सामाजिक कार्यहरु र अन्य क्षेत्रका २०.२५ प्रतिशत उद्योगी व्यवसायीले लिएको कर्जामा ब्याज छुट लागू नभएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु