अर्थतन्त्र सुधार गर्न मंगोलियाले किन्यो ११ टन सुन
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा धमाधम पहेलो धातुको मूल्यमा उल्लेख्य वृद्धि भइरहेको बेला संसारभर नै थप सुन किन्ने क्रम बढेर गएको छ । केही समय पहिले अर्थतन्त्र सुधार गर्न सुन बिक्री गरेको बताउने दक्षिण अमेरिकी मुलुक समेत अब थप सुन नबेच्ने निष्कर्षमा पुगेको छ ।
यसै सन्दर्भमा एशियाली मुलुक मंगोलियाले थप सुन किनेको र आफ्नो अर्थतन्त्रलाई सुधार गरेको समाचार सार्वजनिक भएको छ । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको बताइएको छ ।
मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ । उसले भनेको छ ‘ देशको अर्थतन्त्र सुधारका लागि यो नै हाम्रा लागि उत्तम र अपरिहार्य विकल्पका रुपमा देखा पर्यो । हामीले हाम्रा लागि यस्तो निर्णय गर्यौ ।’
मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको ६ महिनाको अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर सञ्चित रहेको छ ।
विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा संचिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ । सोही प्रचलन अनुसार नै सुन खरिद गरिएको मंगोलियाले जनाएको छ ।