१७ वाणिज्य बैंक र २ वित्त कम्पनीले जारी गरे सवा ४५ अर्बको ऋणपत्र



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले हालसम्म सवाँ ४५ अर्ब रुपैयाँ बरावरको ऋणपत्र जारी गरेका छन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु व्यवस्था गरेको छ ।

सोहीअनसार १७ वटा वाणिज्य बैंक र २ वटा वित्त कम्पनीसहित १९ वटा कम्पनीले ४५ अर्ब २५ करोडको ऋणपत्र निष्काशन गरेका हुन् ।

राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमा वित्तीय क्षेत्र सुदृढीकरणका लागि वाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु पर्ने व्यवस्था गरेको थियो । तर मर्जर तथा प्राप्तीमा सहभागी हुने बैंकले २०७८ असार मसान्तसम्म तोकिएको प्रतिशतमा ऋणपत्र जारी गर्न पाउने सहुलियत राष्ट्र बैंकले दिएको छ ।

बैंकहरुले जारी गरेको ऋणपत्रको शतप्रतिशत रकम कर्जा प्रवाहका लागि उपयोग गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । वाणिज्य बैंकहरुलाई दीर्घकालीन ऋणपत्र जारी गरी वित्तीय साधन परिचालन गर्न प्रोत्साहित गरिएको राष्ट्र बैंकले जनाएको छ । जसकारण धितोपत्र बजारमा उपकरणगत विविधीकरण प्रारम्भ भएको छ ।

गत आर्थिक वर्षमा १७ वटा वाणिज्य बैंकलाई ४४ अर्ब ८० करोड रुपैयाँ र २ वटा वित्त कम्पनीलाई ४५ करोड रुपैयाँको ८.५० देखि १०.२५ प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्ने स्वीकृति राष्ट्र बैंकले दिएको हो । अझै बैंक तथा वित्तीय संस्थाको ५४ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋणपत्र दायित्व रहेको राष्ट्र बैंकले जनाएको छ ।

हालसम्म ऋणपत्र जारी गर्न स्वीकृति पाएकोमा बैंक अफ काठमाडौं १ अर्ब ६० करोड रुपैयाँ, सेञ्चुरी २ अर्ब २० करोड रुपैयाँ, ग्लोबल आइएमई ३ अर्ब रुपैयाँ, कुमारी ३ अर्ब रुपैयाँ, नेपाल बैंक २ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंक ४ अर्ब रुपैयाँ र प्राइम कर्मसियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन् ।

साथै सनराइजले ३ अर्ब रुपैयाँ, एनसीसी ३ अर्ब र एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेका छन् ।

यसैगरी राष्ट्रिय वाणिज्य २ अर्ब ५० करोड रुपैयाँ, सानिमा ४ अर्ब रुपैयाँ, एभरेष्ट १ अर्ब रुपैयाँ, प्रभु २ अर्ब रुपैयाँ, सिटिजन्स २ अर्ब ५ करोड रुपैयाँ, कृषि विकास २ अर्ब ५ करोड रुपैयाँ र नेपाल एसबीआइ बैंकले २ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएका हुन् ।

यस्तै गुडविल फाइनान्सले २५ करोड रुपैयाँ र आइसीएफसी फाइनान्सले २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन् । बैंक तथा वित्तीय संस्थाद्वारा जारी ऋणपत्र न्यूनतम ५ वर्षदेखि १० वर्षसम्म परिवक्छ हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु