अमेरिकालगायतका देशमा टिकटक सञ्चालनको स्वामित्व खोज्दै माइक्रोसफ्ट



अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले लोकप्रिय चिनियाँ एप टिकटक अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डमा सञ्चालनको अधिकार खरिद गर्नका लागि चिनियाँ कम्पनी बाइटी डान्ससँग कुरा भइरहेको जनाएको छ ।

माइक्रोसफ्ट कम्पनीले टिकटक सञ्चालनका लागि तयारी भइरहेको बताइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

चीन र अमेरिकाबीच भइरहेको व्यापार युद्धका समयमा ट्रम्पले चिनियाँ मोबाइल एप अमेरिकामा बन्द गर्न सक्ने घोषणा गरेका हुन् ।

तर यता माइक्रोसफ्ट कम्पनीले भने आगामी १५ सेप्टेम्बरसम्म कुराकानीलाई कुनै ठोस नतिजामा पुर्याउन चाहेको बताएको छ ।

कम्पनीका सीइओ सत्या नडेला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आइतबार भएको भेटपछि माइक्रोसफ्टले उक्त बयान जारी गरेको हो । तर शुक्रबार नै राष्ट्रपति ट्रम्पले टिकटक अमेरिकामा प्रतिबन्ध लगाउने कुरा गरेका थिए ।

कम्पनीले भने टिकटक प्रयोग गर्ने अमेरिकी नागरिकको डाटा अमेरिकामै सुरक्षित रहने भन्दै उक्त डाटा अमेरिका बाहिर नजाने बताएको छ ।

‘हामीले टिकटक सञ्चालनका लागि यसकारण पनि हिस्सा चाहन्छौं कि सुरक्षाको समीक्षाको पूरा काम गर्न सकियोस् र यसबाट अमेरिकालाई पनि आर्थिक फाइदा होस्,’ कम्पनीले भनेको छ ।

समाचार एजेन्सी रोयटर्सको सुत्रका अनुसार ट्रम्पले पार्टीका अन्य नेताको सुझावका आधारमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयबारे पुर्नविचार गर्न सक्नेछन् ।

यता टिकटकले भने आफू अमेरिकामा अझै लामो यात्रामा रहेकाले तत्कालै प्रतिबन्ध लाग्दैछ भनि गरिएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

भारत–चीन सीमानामा विवाद उत्पन्न भएपछि १ अर्ब ३५ करोड जनसंख्या भएको भारतले टिकटकमा प्रतिबन्ध लगाएपछि उसको व्यापारमा उच्च गिरावट आउने प्रक्षेपण आइरहेका बेलामा अमेरिकामा समेत कतै प्रतिबन्ध लाग्दैछ भन्ने खबरहरुले टिकटकलाई तनावमा पारेको छ ।

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने वित्तिकै बेलायत, अष्ट्रेलिया, क्यानडा र न्यूजिल्याण्डमा समेत प्रतिबन्ध लाग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु