१५ लाख भारतीयको ठाउँमा नेपालीलाई जागिर दिन सकिन्छः उद्योगी पवन गोल्यान



काठमाडौं । उद्योगी पवन गोल्यानले सरकारले नेपालीलाई तालिम दिएको खण्डमा १५ लाख भारतीय नागरिकले गर्ने काम नेपालीले गर्न सक्ने बताएका छन् । बिहीबार रोजगारी डटकमको उदघाटनमा बोल्दै गोल्यानले मुलुकमा रोजगारी सिर्जना गर्नका लागि विदेशी कामदारले गरिरहेको काममा नेपालीलाई लगाउन सकिने बताए ।

‘नेपालामा इटाभट्टामा, कपाल काटने काममा, भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो मात्रामा भारतीय मजदुरहरुले काम गरिरहेका छन्, उनीहरुको ठाउँमा नेपालीलाई नै जागिर दिन सकिन्छ,’ उनले भने ।

तर त्यसका लागि सरकारले आवश्यक तालिमको व्यवस्था मिलाउनु पर्ने उनको भनाइ छ । उनका अनुसार नेपालमा भएका इँटा उद्योगमा १० लाखले रोजगारी पाउने र त्यसमा ५ लाख भारतीय मजदुर कार्यरत छन् । उनीहरु कोरोनाका कारण भारत फर्किएको जानकारी गराउँदै नेपालमा भारतीय कामदारको ठाँउमा काम गर्न तत्काल ५ लाखलाई तालिम दिन आवश्यक रहेको बताए ।

उनले ५० हजारभन्दा बढी भारतीय नागरिक नेपालमा कपाल काटने गरेको भन्दै त्यो काममा नेपालीले तालिम लिएमा नेपालीले नै रोजगारी पाउने तर्क गरे । यस्तै निर्माण क्षेत्रमा मात्रै १० लाखको हाराहारीमा भारतीय नागरिक रहेको र उनीहरुको ठाँउमा नेपाली कामदारलाई रोजगारी दिन सकिने दाबी गरे ।

उनका अनुसार मार्मेन्ट उद्योगलाई फस्टाउन सकेको खण्डमा आगामी ५ वर्षमा १० हजार उद्योग खोल्न सकिने र त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १० लाखलाई रोजगारी सिर्जना गर्ने बताए ।

‘२५ वटा गाँउमा १ हजारभन्दा बढी किसानलाई अर्गानिक खेती गर्ने तालिम दिएका छौ । त्यसबाट उनीहरुको दैनिकी, जीवनयापन परिवर्तन भएको छ’ उनले भने ‘उनीहरु स्वस्थ भएका छन् भने आम्दानी पनि बढेको छ ।’

कृषकले उत्पादन गरेको सामानले बजार पाउने गरी काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

अहिले २ खर्ब ५० अर्बको आयात भएको र त्यो रोक्नका लागि साना भन्दा साना कृषिका कार्यक्रम आउन आवश्यक रहेको उनको भनाइ छ । यसका लागि स्थानीय तहसँग समन्वय गर्नुपर्ने उनले बताए ।

वैदेशिक रोजगारीमा अदक्ष कामदार रोक्ने र दक्षलाई मात्रै पठाउने हो भने तीन गुणा बढी विप्रेषण आउने बताए । सरकारले तालिममा धेरै बजेट दिएको छ ।

अब काम गर्नेलाई मात्रै तालिम दिनु उपयुक्त हुने उनको धारणा छ । गार्मेन्ट र टेक्सटायलमा १० लाखलाई रोेजगारी दिन सकिने र यसका लागि ३ महिनाको तालिमले नपुग्ने उनको भनाइ छ ।

‘१ वर्ष निरन्तर तालिम चाहिन्छ, सरकारले १ वर्ष तालिम गरेको खण्डमा उसले काम पाउनै पर्ने र काम पाएको खण्डमा धेरै रोजगारी नेपालमा दिन सकिन्छ,’ उनले भने ।

उनले स्थानीय सरकारले अर्गानिक र उत्पादन बढाउनेलाई वर्गिकरण गर्न आवश्यक रहेकोमा समेत जोड दिए ।

नेपालमा अल्लो, जडिबुटी, हस्तिहाडका सामान, अदुवा, अल्लोे, हाते कागज उद्योग अघि बडाउन सकिने र त्यो निर्यात गर्न पनि सकिने बताए । उनले मस्यौरा, सातु उत्पादन गरेर पनि निर्यात गर्न सकिने बताए ।


क्लिकमान्डु