बिहीबार एकतोला सुनको मूल्य ९९ हजार  पुग्यो



काठमाडौ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बिहीबार पनि उकालो लागेको छ ।  बुधबार प्रतितोला  ९८ हजार ५०० रूपैयाँमा मा कारोवार भएको पहेँलो धातुमा आज ५०० रूपैयाँले वृद्धि भएको छ ।

आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला  ९९ हजार  रूपैयाँमा कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य  ९८ हजार ५६० रूपैयाँमा निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य २०  रूपैयाँले घटेको छ । एकतोला सेतो धातुको मूल्य आज  १ हजार २२५  रूपैयाँ निर्धारण भएको छ ।

कोभिड-१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० रूपैयाँले बढेर ८७ हजार  रूपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १९६२.१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१.६० मा कारोबार भएको थियो ।


क्लिकमान्डु