प्रोत्साहित मर्जरमा नजाने वाणिज्य बैंकको यो वर्षभित्रै फोर्स मर्जर गराउँदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चालु आवभित्रै फोर्स मर्जर गराउने भएको छ । चालु आर्थिक वर्षभित्र नै उल्लेख्यरुपमा वाणिज्य बैंकको संख्या घटाउने लक्ष्यसहित राष्ट्र बैंकले फोर्स बिग मर्जर नीति अवलम्बन गरेको हो ।

सोमबार राष्ट्र बैंकले एकीकृत निर्देशिका-२०७६ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै क्रस होल्डिङ भएका वाणिज्य बैंकलाई मर्जरमा सहभागी हुन निर्देशन दिने भएको छ ।

संशोधित निर्देशिकामा भनिएको छ, ‘एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरु र व्यवसायिक सम्बन्ध स्थापित भएका वाणिज्य बैंकहरुलाई एकआपसमा गाभ्न/गाभिन निर्देशन दिइने छ ।’

प्रोत्साहित मर्जरमा सहभागी नहुने वाणिज्य बैंकहरुलाई फोर्स मर्जर गराइने राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले बताए ।

‘पहिलो चरणमा वाणिज्य बैंकहरुलाई प्रोत्साहित मर्जर सहभागी हुन समय दिइन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘प्रोत्साहित मर्जरमा सहभागी नहुनेलाई सेयर स्वामित्वको अध्ययन गरी मर्जरमा जान निर्देशन दिइन्छ ।’

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको कस्तो र कतिसम्मको व्यक्ति÷समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा भएमा मर्जरको निर्देशन दिने भन्ने विषयमा छुट्टै नीति बनाउने उनले बताए ।

वाणिज्य बैंकहरूको मर्जरसम्बन्धी गरिएको व्यवस्था चालु आवभित्रै कार्यान्वयनमा ल्याउने उनले बताए ।


क्लिकमान्डु