उद्योग खुले,आधा क्षमतामा मात्रै सञ्चालन



काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षित रहन सरकारले घोषणा गरेको लकडाउनले लामो समय बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रका उद्योग सञ्चालनमा आएका छन् ।

औद्योगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ ।

लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा नरहेको बताइएको छ ।

अत्यावश्यक बाहेक उत्पादन गर्ने उद्योग बन्द रहेका थिए । अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ ।

कच्चापदार्थको कमी, उत्पादनअनुसारको माग र उत्पादन नहुनु तथा जनशक्ति कमीले सञ्चालनमा समस्या रहेको कार्यालयका प्रमुख राजेन्द्र कँडेलले बताए ।

साथै उनले आर्थिक मन्दी र उत्पादन गरिएका सामान बिक्री नभई गोदाममा थन्किने कारणले उद्योगीहरु तनावमा रहेका छन् ।

उता उद्योगी एवं व्यवसायीका अनुसार बैंकको ब्याज, कच्चापदार्थको अभाव र महँगीका कारण उद्योग चलाउन समस्या रहेको गुनासो पाइएकोे छ ।

औद्योगिक क्षेत्रका उद्योगहरुमा करीब ५ हजार मजदुर कार्यरत रहेको तर लकडाउनमा घर गएका धेरै मजदुर नआएकाले पनि उद्योगमा समस्या परेको हो ।लामो दूरीका सवारीसाधन सञ्चालन हुन नसक्नु पनि एउटा ठूलो समस्या हो । नब्बे प्रतिशत मजदुर  बाहिरका छन् ।

औद्योगिक क्षेत्रमा निजी क्षेत्रको ५ अर्ब ५० करोड रुपैयाँ लगानी रहेको छ भने सरकारी लगानी ९० करोड रुपैयाँ रहेको कार्यालयले जनाएको छ । काष्ठ उद्योगी रामपुकार ठाकुरले बजारमा उपभोक्ताको अभावका साथै खरिदबिक्री पनि कम भएको बताए ।

हेटौँडा सिमेन्ट उद्योग, शिवम् सिमेन्ट उद्योग र एशियन पेन्ट्स उद्योगलगायत अन्य उद्योगहरु पनि पूर्ण क्षमतामा सञ्चालनमा छैनन् । कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले तोकेको मापदण्डअनुसार उद्योगहरुले पालना गरिरहेका छन् ।


क्लिकमान्डु