एडिबीले सुदूरका चार शहरमा आधुनिक सडक बनाउँदै   



महेन्द्रनगर । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार वटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणको काम शुरु गर्दैछ ।

सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक स्तरोन्नति र ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण हुन लागेको हो ।

‘क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वय एकाइका उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले चारवटै शहरमा सडक र ढल, साइकल लेन, फुटपाथलगायत संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको जानकारी दिनुभयो । “फोहरमैला प्रशोधन निर्माणको काम भने जग्गा नपाउँदा केही ढिलाइ हुने भएको छ’, उनले भने, ‘सडक, ढल र केही ठाउँमा र्सौर्य बत्तीलगायतको काम भने तत्काल शुरु हुँदैछ ।’

आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरका ५ गल्लीको सडक स्तरोन्नति, ढल निर्माणका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मूलगेटसम्म नमूना सडक, सौर्य बत्ती जडान हुनेछन् ।

‘शुक्लाफाँटाको गेटसम्म नमूना मार्ग बनाउन सौर्य बत्ती र पैदल मार्गलगायत संरचना बन्नेछन्’, उनले भने, ‘त्यसका लागि ८७ करोडमा ठेक्का सम्झौता भइसकेको छ ।’

महेन्द्रनगरमा निर्माण हुने साढे १४ किलोमिटर सडकका लागि जेडआइइसी–लामा जेभीसित ठेक्का सम्झौता भइसकेको छ ।

निर्माणका लागि दुई वर्षको समयावधि तोकिएको छ । आयोजनाअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजार, नगरपालिकासम्मको सडक, नाली निर्माणका लागि  २४ करोड रूपैयाँ रमक-केएस जेभीसित सम्झौता भएको छ । त्यसमा झण्डै पाँच किलोमिटर सडक र आठ किलोमिटर नाली तथा फुटपाथ निर्माण हुनेछ । उक्त निर्माण कम्पनीलाई २० महिनाको समय तोकिएको छ ।

त्यसैगरी कैलालीको गोदावरी नगरपालिकामा आयोजनाअन्तर्गत अन्यत्र झैँ सडक निर्माण, ढल र फुटपाथ निर्माण हुँदैछ । साढे १६ किलोमिटर सडक निर्माण र अन्य संरचनाका लागि नगरपालिकामा रु ४८ करोडको ठेक्का सम्झौता भएको छ । उक्त काम दुई वर्षभित्र पूरा गर्ने गरी कालिका कन्स्ट्रक्सनले जिम्मा पाएको आयोजनाले जनाएको छ ।

त्यसैगरी साढे १० किलोमिटर सडक तथा नाली निर्माणका लागि धनगढी उपमहानगरपालिकामा रु ७७ करोडको ठेक्का भइसकेको उपव्यवस्थापक बुढाथोकीले बताए ।

‘यहाँ सबै आयोजनाले शहरी विकास नाम दिएर सडक स्तरोन्नति र ढलको समस्या समाधान तथा सुन्दर शहर निर्माणलाई प्राथमिकता दिइएको छ’, उनले भने, ‘अब चाँडै कामले तीव्रता पाउनेछ ।’

त्यसैगरी धनगढी र भीमदत्त नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गाको टुङ्गा लगाइसकेका छन् भने गोदावरी र शुक्लाफाँटामा जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनले बताए ।

‘जग्गा नपाउँदा पनि केही समय ढिलाइ हुन पुग्यो’, बुढाथोकीले भने, ‘शुक्लाफाँटा र गोदावरीले सामुदायिक वनको जग्गामा प्रशोधन केन्द्र बनाउने भनेर अगाडि बढेका छन् ।’


क्लिकमान्डु