दक्षिण कोरियाको आर्थिक वृद्धि २० वर्ष यताकै न्यून



एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको अर्थतन्त्र अप्रिल–जुन अवधिमा अघिल्लो वर्षको तुलनामा २.९ प्रतिशतले खुम्चिएको छ ।

यसअघि एसियाली आर्थिक संकटको परिणामस्वरुप सन् १९९८ को चौथो त्रैमासिकमा करिब ३.८ प्रतिशतले कोरियाली अर्थतन्त्र खुम्चिएको थियो ।

साथै त्रैमासिक विवरण अनुसार यसै वर्ष पनि ३.३ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको छ । यस्तो अवस्था पनि विगत २० वर्षयता पहिलो पटक देखा परेको हो ।

दक्षिण कोरियामा चीनको मुख्य भूभागपछि पहिलो पटक कोरोनाभाइरस देखा परेको थियो । तर कोरियाले बाध्यकारी लकडाउन कहिल्यै लगाएन, तर सामाजिक दूरी र मास्क लगाउने कार्यलाई बढावा दिनुका साथै स्वास्थ्य परीक्षणलाई व्यापक बनाएको थियो ।

कोरोनाभाइरस नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरे पनि कोरियाली अर्थतन्त्रलाई विश्व परिदृश्यले असर पारेको देखिएको छ ।

कोरियाको अर्थतन्त्र मुख्य रुपमा व्यापार–निर्भर रहेको छ । दोस्रो त्रैमासिक अवधिमा कोरियाको निर्यात व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.६ प्रतिशतले घटेको छ ।

बैंक अफ जापानका अनुसार कोरियाबाट मोटर र कोइला एवं पेट्रोलियम उत्पादनहरुको निर्यात घटेकाले पनि अर्थतन्त्रमा असर परेको हो ।

गत मे महिनामा बैंकले गरेको प्रक्षेपणमा सन् २०२० मा कोरियाली अर्थतन्त्र ०.२ प्रतिशतले खस्कने उल्लेख थियो ।

अन्तर्राष्ट्रिय मुद्राकोषले गत महिना दक्षिण कोरियाको वृद्धि प्रक्षेपणलाई घटाउँदै यस वर्ष वृद्धिदर २.१ प्रतिशत रहने जनाएको थियो ।विश्वका समुन्नत मुलुकको अर्थतन्त्र भने झण्डै ८ प्रतिशतले खुम्चने मुद्राकोषको अनुमान छ ।


क्लिकमान्डु