यसकारण म चन्द्रजीको टिमबाट महासंघको एशोसिएट उपाध्यक्षका उम्मेद्वार: रामचन्द्र सांघाई



अर्थतन्त्र कोभिड–१९ को चपेटामा छ । लामो समयसम्म आर्थिक गतिविधि ठप्प हुँदा यसको असर मुलुकको अर्थतन्त्रमा परेको छ ।

यसलाई सम्बोधन गर्न सरकारले बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् आर्थिक पुनरुत्थानका लागि केही सम्बोधन गरेको छ । तर अब यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न चुनौतीपूर्ण छ ।

अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको छ । यस्तोमा निजी क्षेत्रका समस्या समाधान, आवश्यकता पहिचान तथा यसलाई कुन दिशातर्फ अगाडि बढाउने हो भन्ने हामी निजी व्यवसायीको महासंघ नेपाल उद्योग वाणिज्य महासंघले लिने निर्णय, अग्रसरतामा भरपर्छ ।

आज मुलुकभर रहेका निजी क्षेत्रका व्यवसायी महासंघले मौद्रिक नीति कार्यान्वयनका लागि अग्रसरता लिन्छ भन्ने आशामा बसेका छन् । त्यसैले मुलुकभर छरिएर रहेका निजी क्षेत्रका व्यवसायीको मागलाई भावलाई बुझेर सोही अनुसार नीति अबलम्बन गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा ती सबै व्यवसायीको समस्या, आवश्यकतालाई समेट्दै अगाडि बढ्न म आफू सक्षम छु र नेतृत्वमा पुगेपछि त्यसलाई सम्बोधन गर्न सक्छु भन्ने विश्वास छ । म उद्योग वाणिज्य महासंघमा सक्रिय भइ लागेको डेढ दशक पुगिसकेको छ । यद्यपि महासंघमा कार्यकारिणी सदस्य हुँदा पनि कुनै पनि समितिको सभापति भएर काम गरेको छैन ।

मैले आफूले चन्द्रजीको टिम रोज्नुका पछाडि खास कारण छन् । चन्द्र ढकाललाई पूरै देशले चिन्दछ । उहाँको ठूलो नेटवर्क छ । सबै जिल्लामा व्यवसाय फैलिएको छ । सरल स्वभावको व्यक्ति पनि हुनुहुन्छ ।

त्यसका पछाडि केही कारण होलान् । तर अब आएर मैले के सोचे भने महासंघ जस्तो गरिमामय संस्थाको नेतृत्वदायी पदमा आएँ भने व्यवसायिक हकहितमा काम गर्नुपर्छ । महासंघमा एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको संयोजक हुने व्यवस्था छ ।

मेरो आफ्नो समूह अन्तर्गत करिब १६ हजार व्यक्ति काम गर्छन् । मलाई मजदुरदेखि रोजगारदातासम्मको समस्याको राम्रो अनुभव छ । मैले त्यो समस्या समाधान गर्न पहल गर्न सक्छु भन्ने लाग्छ । उद्योगदेखि व्यापार व्यवसायसम्मको समस्याबारे मलाई जानकारी छ ।

मैले आफूले चन्द्रजीको टिम रोज्नुका पछाडि खास कारण छन् । चन्द्र ढकाललाई पूरै देशले चिन्दछ । उहाँको ठूलो नेटवर्क छ । सबै जिल्लामा व्यवसाय फैलिएको छ । सरल स्वभावको व्यक्ति पनि हुनुहुन्छ । उहाँसँग मेरो पुरानो सम्पर्क भएको हुँदा चन्द्रजीको टिमबाट उपाध्यक्ष उठ्न खोजेको हुँ ।

अहिलेपनि श्रमको समस्या छैन भन्ने होइन । उद्योग चलाउदा विभिन्न खाले समस्या आएका हुन्छन् । समस्या भनेको सधै आउने कुरा हो । यसलाई समाधान गर्दै लैजाने हो । तीन महिनादेखि कोभिडले गर्दा समस्या भएको छ । उद्योग व्यवसाय चलेको छैन । जसले गर्दा कामदार र कर्मचारीले तलब पाउन सकेका छैनन् ।

एशोसिएट उपाध्यक्ष रोजगारदाताको सभापति भएको हुनाले त्यो विषयमा काम गर्ने हो । कुनै खालका समस्या आउदा पनि म समाधान गर्न सक्छु । ट्रेडिङ गर्नेलाई ट्रेडिङको कुरा बढी थाहा हुन्छ । महासंघ भनेको ट्रेडिङ गर्नेको मात्रै संस्था होइन । म आफू ट्रेडिङबाट उद्योगमा आएको हो ।

म आफू २०३६ सालदेखि उद्योग व्यवसायको क्षेत्रमा सक्रिय छु । विभिन्न सेक्टरमा हामीले काम गरेका छौं । हामीले सिमेन्ट, जलविद्युत्, सेवामूलकलगायत कपडा र धागो उद्योग सञ्चालन गरिरहेका छौं । गतवर्ष धागो निर्यात गरी सबैभन्दा धेरै विदेशी मुद्रा भित्राएको भन्दै सरकारले सम्मान गरेको थियो ।

चुनावको प्रमुख एजेण्डा भनेको सबैभन्दा उद्योग कलकारखानालाई कसरी बचाउने भन्ने नै हो । यसका साथै यससँग जोडिएका श्रमिकहरु पनि हुनुहुन्छ । उहाँहरुलाई पनि बचाउनुपर्छ । त्यसबाहेक विदेशबाट ४/५ लाख नेपाली फर्केर आएका छन् । उहाँहरुलाई पनि काम दिनुपर्ने अवस्था छ । यसका लागि लगानी आउनु पर्छ र त्यसबाट रोजगारी सिर्जना हुन्छ ।

रोजगारी कि त राज्यले दिनुपर्छ होइन भने निजी क्षेत्रले नै दिने हो । त्यसैले निजी क्षेत्र राम्रोसँग ‘ग्रोथ’ गर्न सकेन भने यसको असर श्रमिकमा पर्ने नै भयो । त्यसैले हामीले आजका दिनमा सबैभन्दा पहिले निजी क्षेत्रको हितमा बचाउनका लागि नै काम गर्नुपर्ने हुन्छ ।

एसोसिएट उपाध्यक्षका रुपमा म महासंघको निर्वाचनमा उम्मेदवार बन्दै गर्दा मेरा केही सोचहरु छन् । जसलाई म बुँदागत रुपमा स्पष्ट पार्न चाहन्छु ।

१) पहिलो काम महासंघलाई सुदृढ र सबल बनाउने नै हो । म उपाध्यक्ष भएसँगै उद्योगी व्यवसायीमा देखिएका विद्यमान समस्यालाई हल गर्न र आगामी समयका लागि उद्योग व्यवसाय क्षेत्रलाई थप बलियो बनाउनु नै हुनेछ ।

२) महासंघको एशोसिएटको तर्फको उपाध्यक्ष भनेको रोजगारदाता परिषदको सभापति हुन्छ । उक्त परिषदको सभापति भएकाले रोजगारदाता र श्रमिकबीचको सम्बन्धलाई सुमधुर बनाउँदै बढीभन्दा बढी उत्पादकत्व बढाउने र औद्योगिक वातावरण कायम राख्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

३) सरकारले पछिल्ला केही बजेट वक्तव्यमार्फत वार्षिक ४ देखि ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने भन्दै आएको छ । तर उक्त विषय घोषणामा मात्रै सीमित भइरहेको छ । म सम्बद्ध कम्पनीले नै अहिले १६ हजार श्रमिकलाई रोजगारी दिँदै आएको छ । महासंघमा मेरो प्रतिनिधित्व भएपछि सरकारसँग सहकार्य गर्दै देशमा नयाँ क्षेत्रको अध्ययन र अनुसन्धान गर्दै रोजगारी सिर्जना गर्नेमा केन्द्रित हुनेछ ।

४) गत साता मात्रै नेपाल राष्ट्र बैंकले चालु आवका लागि मौद्रिक नीति ल्याएको छ । जसमा आफ्नो कुल लगानीको १५ प्रतिशतसम्म कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । अब हामी आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्छ र महासंघको सहकार्यमा व्यवसायिक कृषि खेतिलाई प्राथमिकता दिनुपर्ने मेरो उद्देश्य हुनेछ ।

५) म आफै पनि निर्यातमूलक उद्योग सञ्चालन गर्दै आएको छु । देशको व्यापार घाटालाई घटाउँदै निर्यात बढाउनु जरुरी छ । बढी ‘भ्याल्यु एड’ हुने वस्तु निर्यात गर्नतर्फ केन्द्रित हुनु अहिलेको आवश्यकता छ । त्यसैले अबका दिनमा कुन देशमा कस्तो खालको नेपाली उत्पादनहरुको माग हुन्छ सोहीअनुसार अध्ययन अनुसन्धान गरेर निर्यात प्रबद्र्धनमा केन्द्रित हुनेछ ।

६) अहिले हामी व्यवसायीहरु सरकारसँग सहकार्य होइन विभिन्न माग तेर्साएर विरोध गरेर अघि बढ्नुपर्छ भन्ने मानसिकताबाट अघि बढेको जस्तो देखिन्छ । सरकार हाम्रो अभिभावक पनि हो । हामीले सरकारको विरोध होइन सहकार्य नै गरेर आफ्ना मागहरु सम्बोधन गर्नुपर्छ ।

यसका साथै हाम्रा अग्रज व्यवसायी तथा पूर्वअध्यक्षहरुले महासंघको शाख जोगाउनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नु भएको छ र उहाँहरुको मार्गमा हिँड्दै महासंघका शाख उचो बनाइ राख्नका लागि हरसम्भवले प्रयास गर्ने विश्वास समेत दिलाउन चाहन्छु ।

कुराकानीमा आधारित


क्लिकमान्डु