सेयर बजारमा उछाल आउँदा पनि जलविद्युत् कम्पनीका लगानीकर्ता निराश



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३३ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । यी कम्पनीमा सर्वसाधारण लगानीकर्ताको लगानी छ ।

नेप्सेमा सूचीकृत भएका कम्पनीमा झन्डै ५० प्रतिशत कम्पनीका लगानीकर्ताले गरेको लगानी बालुवामा पानी सरह नै भएको छ ।

पछिल्लो केही दिनयता नेपालको पुँजी बजारमा निकै उछाल देखिएको छ । तर जलविद्युत कम्पनीका लगानी गर्ने लगानीकर्ताको लगानीमा दिनानुदिन नोक्सानी बढिरहेको छ । साधारण सेयर (आइपीओ)मा गरेको लगानीमा पनि लगानी अर्थात् प्रतिकित्ता १ सय रुपैयाँमा पनि आधाभन्दा बढी नोक्सानी लगानीकर्ताहरुले ब्यहोरी रहेका छन् ।

यतिबेला सबैभन्दा बढी नोक्सानी व्यहोर्ने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी छन् । यी कम्पनीको सेयर सोमबारसम्म प्रतिकित्ता ४८ रुपैयाँ छ ।

नेप्सेमा सूचीकृत भएका जलविद्युत् कम्पनीमा १६ वटाको मूल्य आईपीओभन्दा कम अर्थात् एक सय रुपैयाँभन्दा कम छ । एक सय रुपैयाँभन्दा कम मूल्य भएका १६ कम्पनीमध्येको पनि बढी सेयर मूल्य भएको कम्पनी हिमालयन उर्जा विकास कम्पनीको पनि ९८ रुपैयाँ मात्रै छ । यो कम्पनीमा आईपीओ भरेका लगानीकर्ताले पनि प्रतिकित्ता २ रुपैयाँ नोक्सानी व्यहोरी छन् ।

जलविद्युत् कम्पनीका लगानीकर्तामा पछिल्लो समयमा निकै निराशा छाएको छ ।

अहिले बजार बढी रहेको समयमा पनि जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको चासो कम देखिएको छ । सोमबार मात्रै पनि जलविद्युत् कम्पनीको उपसूचकमा १२.४५ अंकको गिरावट छ ।


क्लिकमान्डु