साना तथा मझौला कम्पनीलाई सेयर बजारमा भित्र्याउने बोर्डको रणनीति, नेप्सेमा एसएमइको छुट्टै प्लेटफर्म



काठमाडौं । धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्डले चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गर्ने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) को विद्युतीय कारोवार प्रणालीलाई धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासंग आवद्ध गरी पूर्ण स्वचालित कारोवार प्रणालीको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने अध्यक्ष ढुंगानाले बताए ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको चरणबद्ध विकासका लागि बोर्डको चार वर्षीय रणनीतिक योजना (आव २०७७/७८-२०८०/८१) तयार गरी लागू गर्ने भएको छ ।

यस्तै धितोपत्र बजारमा हुने ग्राहक परिचय विवरणको प्रभावकारी व्यवस्थापनका लागि सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससी) मार्फत् एकीकृत ग्राहक परिचय विवरण व्यवस्थापनको व्यवस्था मिलाउने नीति रहेको छ ।

अर्थतन्त्रसँग सम्बन्धित नीति निर्माण अनुसन्धान गर्ने आर्थिक विकास तथा प्रशासन केन्द्र जस्ता अध्ययन अनुसन्धान गर्ने संस्था तथा विश्वविद्यालयसंग सम्बन्ध विकास गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन तथा सुधार सम्बन्धमा नीतिगत अध्ययन अनुसन्धान गर्ने गराउने व्यवस्था मिलाउने नीति रहेको छ ।

बोर्डले यो वर्ष धितोपत्र बजार नियमनका लागि हाल धितोपत्र सम्बन्धी ऐन, २०६३ रहेकोमा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास अनुसार नेपाल धितोपत्र बोर्डलाई जवाफदेहितासहितको अधिकार सम्पन्न नियमन निकाय बनाउन नेपाल धितोपत्र तथा विनिमय बोर्ड ऐन र धितोपत्र कारोवार तथा धितोपत्र व्यवसायीहरुको नियमनलाई प्रभावकारी बनाउन धितोपत्र कारोवार सम्बन्धी ऐनको मस्यौदा निर्माण गर्ने भएको छ ।

यस्तै धितोपत्रको दोस्रो बजार सम्बन्धी जानकारी र पहुँच देशव्यापी बनाउन धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरण गरी परिचालन गर्न आवश्यक कार्यविधि बनाउने पनि योजना रहेको छ ।

धितोपत्र बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवं सुदृढ व्यवस्था गर्न विद्युतीय विवरण प्रवाह तथा प्राप्ति प्रणाली विकास गरी लागू गर्ने भएको छ ।


क्लिकमान्डु