विदेशी विनिमय सञ्चिति २५.८ % ले बढ्यो, ११.७ महिनासम्म वस्तु तथा सेवा आयात गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

२०७६ असार मसान्तसम्म १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले बृद्धि भई जेठ मसान्तसम्म आइपुग्दा १३ खर्ब ३ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ जेठ मसान्तमा १० अर्ब ७९ करोड पुगेको छ ।

विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ जेठ मसान्तमा ११ खर्ब ४२ अर्ब ७८ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ जेठ मसान्तमा १ खर्ब ६३ अर्ब ६८ करोड पुगेको छ ।

२०७७ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को ११ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.३ महिनाको वस्तु आयात र ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.७ प्रतिशत, ९७.५ प्रतिशत र ३२.३ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३० प्रतिशत, ६४.९ प्रतिशत र २९ प्रतिशत रहेका थिए ।


क्लिकमान्डु