आयात १५.३ प्रतिशतले घट्यो, निर्यात ०.२ प्रतिशतले बढ्यो



आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा कुल वस्तु निर्यात ०.२ प्रतिशत वृद्धि भएको छ भने आयात १५.३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा निर्यात वृद्धि भई ८८ अर्ब पुगेको छ भने आयात घटेर रु.११ खर्ब ८१ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १९.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ११.२ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४२.१ प्रतिशत र १८.३ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, एमएस पाइप लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, ऊनी गलैंचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।

११ महिनामा कुल वस्तु आयात १५.३ प्रतिशतले घटेर रु.११ खर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७.३ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.३ प्रतिशत, ९.० प्रतिशत र ४.१ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १६.४ प्रतिशतले संकुचन आई १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ कायम भएको छ ।

गत वर्षको सोही अवधिमा यस्तो घाटा १७.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु