देशभर नयाँ ६ वटा औद्योगिक क्षेत्र स्थापना हुँदै, ५ वटा घोषणा हुन बाँकी



काठमाडौं । सरकारले ४ वटा प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमातहतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार प्रदेश नम्बर १ को झापाको दमकमा १ हजार ४२२ हेक्टर क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना हुनेछ । त्यस्तै बाग्मती प्रदेशको मकवानपुरको मयुरधापमा १३५ हेक्टरमा र सोही प्रदेशको चितवन शक्तिखोरमा १ हजार १७८ हेक्टर क्षेत्रफलमा नयाँ औद्योगिक क्षेत्र स्थापना हुनेछ ।

लिमिटेडका अनुसार प्रदेश नम्बर ५ को रुपन्देही मोतिपुरमा ५५० र बाँकेको नौबस्तामा २२८ हेक्टर क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना हुनेछ भने सुदुरपश्चिम प्रदेशको कञ्चनपुर दैजीमा ६१० हेक्टर क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना हुनेछ ।

लिमिटेडका अनुसार घोषणा हुन बाँकी औद्योगिक क्षेत्रमा प्रदेश नम्बर २ सर्लाहीको मुर्तिया, प्रदेश नम्बर ५ को दाङको लक्ष्मीपुर, गण्डकी प्रदेशको तनहुँस्थित चिन्तुटार, सुदुरपश्चिम प्रदेशको कैलालीस्थित लम्की र कर्णाली प्रदेशको दैलेखस्थित चुप्रा छन् ।

लिमिटेडका अनुसार नौबस्ता, मोतिपुर, मयुरधाप र शक्तिखोर औद्योगिक क्षेत्रको डीपीआर स्वीकृत भइसकेको छ भने दैजी, लम्की, मोतिया औद्योगिक क्षेत्रको डीपीआर अन्तिम चरणमा छ । त्यस्तै, नैबस्ता, मोतिपुर र मयुरधापमा औद्योगिक क्षेत्र स्थापनाका लागि परियोजना कार्यालय स्थापना भइ काम शुरु भइसकेको छ ।

देशभर स्थापना भएका औद्योगिक क्षेत्रमा करिब २१ हजारले रोजगारी प्राप्त गरिरहेका छन् । दमकस्थित औद्योगिक क्षेत्र स्थापनाका लागि नेपाल लगानी बोर्डको ३९औं बैठकले चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क दमक परियोजना अघि बढाएको छ ।

सो परियोजनाको कुल लागत ६४ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत भइसकेको छ । आयोजनाको डीपीआर तयार गर्न स्वीकृति समेत दिइसकिएको छ भने स्वदेशी साना, ठूला तथा विदेशी बहुराष्ट्रियसहित करिब ७ सय उद्योग हाल सञ्चालनमा छन् ।


क्लिकमान्डु