झुट्ठा र नक्कली भ्याट बिल बनाइ साढे ६ अर्बबढी राजस्व छल्ने ४ कम्पनी विरुद्ध मुद्दा दर्ता



काठमाडौं । झुट्ठा तथा नक्कली भ्याटबिल बनाइ राजस्व छली गर्ने ४ वटा कम्पनी विरुद्ध आन्तरिक राजस्व विभागले मुद्दा दर्ता गरेको छ ।

विभागले बुधबार राजस्व छली गर्ने ४ वटा कम्पनी विरुद्ध ६ अर्ब ६० करोड रुपैयाँ बराबरको बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

विभागले वैष्णो ट्रेड कन्सर्नका ९ वटा विभिन्न फर्मका १९ जनाले २ अर्ब १६ करोड ६५ लाख ४९ हजार ५३१ रुपैयाँ राजस्व छली गरेको उल्लेख गरेको छ ।

त्यसैगरी जयमाताजी इन्टरप्राइजेज समेतका ४ वटा विभिन्न फर्मका सञ्चालक तथा प्रोप्राइटरहरु समेत ३ जनाले ६१ करोड ५४ लाख २२ हजार ३९५ रुपैयाँ बराबरको राजस्व छली गरेको जनाएको छ ।

त्यसैगरी विभागले सोह्रखुट्टेमा संचालनमा रहेको हाईटेक ईन्टरनेशनल प्रालि विरुद्ध २ अर्व ४२ करोड ९८ हजार ७६ हजार १४० रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दर्ता गरेको हो ।

विभागले ललितपुर महानगरपालिका वडा नं( २ सानेपामा संचालनमा रहेका जेएसएस मोबाइल एण्ड सर्भिसेज प्रालिका सञ्चालक र प्रोप्राइटर तथा मुख्य कारोबारी समेत ४ जनालाई राजस्व चुहावट गरेको अभियोगमा १ अर्ब ३९ करोड ७ लाख विगो कायम गरी मुद्दा दर्ता गरेको हो ।


क्लिकमान्डु