चैतदेखि असारसम्मको भाडा पूर्ण छुट र त्यसयता ५० प्रतिशत छुट हुनुपर्छः फेकन



काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले लकडाउनको अवधिमा घरभाडामा ५० प्रतिशत छुटको माग गरेका छन् ।

लकडाउन शुरु भएको चैतदेखि असार मसान्तसम्मको घरभाडा पूर्ण छुट र यहि साउन २०७७ देखि आगामी असार ०७८ सम्मको भाडामा ५० प्रतिशत छुटका लागि सम्पूर्ण घरधनीमा समक्ष अनुरोध गर्दछौं,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीका कारण अधिकांश व्यवसायी विस्थापित भई घरहरु लामो समयसम्म खाली भई आम्दानीको बाटो नै बन्द हुने अवस्था रहेकाले घरधनी र संस्थाबीचको आपसी सहमतिमा ५० प्रतिशत छुट हुनेपर्ने संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘कतिपय यस व्यवसायबाट विस्थापित भइनै सकेको हामीले जानकारी पाएका छौं । यसको प्रमुखकारण कार्यालयको घरभाडा नै देखिन आएको छ । तसर्थ २ दशकदेखि सञ्चालनमा रहेको यस शैक्षिक परामर्श व्यवसायलाई बिस्थापित हुनबाट जोगाउनका लागि घरधनी र व्यवसायीबीच आपसी समझदारी र सहयोगले मात्र सम्भव देखिन्छ,’ अध्यक्ष युवराज कटवालले भने ।

नेपाललगायत विश्वव्यापी लकडाउन तथा बन्द रहेको अन्तर्राष्ट्रिय हवाई उडानले शैक्षिक परामर्श व्यवसाय पूर्णरुपमा प्रभावित हुन पुगेको विज्ञप्तिमा उल्लेख छ ।

‘व्यवसाय यति धेरै प्रभावित बन्न पुगेको छ कि यस व्यवसाय सामान्य अवस्थामा फर्किन लकडाउन र अन्तर्राष्ट्रिय उडान सूचारु भएको मितिले कम्तीमा १ वर्ष लाग्ने निश्चित छ । यसअवस्थामा अधिकांश व्यवसायीहरु हतोत्साही बनेका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

संघले अधिकांश घरधनीको मुख्य आम्दानीको स्रोत घरभाडा नै रहेको यथार्थबाट पनि हामी अनभिज्ञ नभएको भन्दै यस्तो विषम परिस्थितिमा व्यवसायीलाई आत्मविश्वासका साथ व्यवसायमा टिकिरहन घरभाडामा अधिक छुट दिएर मात्र सम्भव देखिएको संघले उल्लेख गरेको छ ।

तसर्थ, यसबाट पर्ने दुरगामी प्रभावबाट सबैलाई जोगाउन यस शैक्षिक परामर्श व्यवसायमा आवद्ध व्यवशायीलाई घरभाडामा छुट दिई व्यवसाय जोगाउनु नै अहिलेको आवश्यकता तथा उत्तम विकल्प भएको संघको भनाइ छ ।

संघले महामारीको प्रभावमा व्यवसायी मात्र नभइ विद्यार्थी तथा अभिवावक पनि प्रभावित बन्न पुगेका छन् । कतिपय विद्यार्थीहरु भिसा पाएर पनि रोकिनु परेको छ भने कतिपयको वैदेशिक अध्ययन प्रक्रिया समेत बीचमै रोकिएको छ । भिसा लागेर पनि लकडाउनका कारण उड्न नपाएका धेरै विद्यार्थीले बैंकबाट लिएको शैक्षिक कर्जाको ब्याजदरका कारण विद्यार्थीहरु मर्कामा परेको हुनाले यस लकडाउन अवधिको ब्याजदर छुट गरिदिन पनि सम्पूर्ण बैंकसँग संघले अनुरोध गरेको छ ।

साथै, भिसा लागेका विद्यार्थीको पढ्न जाने व्यवस्था गर्न तथा प्रक्रियारत विद्यार्थीहरुको प्रक्रिया पुन सूचारु गर्न शिक्षामन्त्रालय तथा अन्य सम्बन्धित निकायसँग निरन्तर छलफलमा गरिरहेको संघले उल्लेख गरेको छ ।


क्लिकमान्डु