निगमको नाफा करिब ११ अर्ब, ६५ अर्ब राजस्व बुझायो



काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्षमा करिब ११ अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिँदै चालु आर्थिक वर्षमा १० अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको जानकारी दिएको हो ।

त्यसैगरी निगमले पछिल्लो ५ वर्षमा मात्रै ५२ अर्ब रुपैयाँ नाफा कमाएको छ ।

निगमले गत वर्ष ८ अर्ब ७५ करोड रुपैयाँ नाफ कमाएको थियो । चालु आर्थिक वर्ष सकिने अझै केही दिन बाँकी भएकाले नाफा ११ अर्ब रुपैयाँ पुग्ने निगमको अनुमान छ ।

निगमका अनुसार आर्थिक वर्ष २०७२/७३ मा निगमले १९ अर्ब ३६ करोड नाफा आर्जन गरेको थियो भने आर्थिक वर्ष २०७३/७४ मा ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यसैगरी निगमले आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

निगमका अनुसार चालु आवको शुरुमा १०८ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको भाउ आलु आवको अन्तिममा १०२ रुपैयाँमा सीमित भएको छ ।

निगमले चालु आवमा ५ पटक मूल्यवृद्धि गरेको थियो भने ५ पटक नै मूल्य घटाएको जनाएको छ । निगमका अनुसार चालु आवमा १४७ अर्ब रुपैयाँ भारतस्थित इन्डियन आयल कर्पोरेसनलाई बुझाएको छ । त्यसैगरी कुल २४० अर्ब रुपैयाँको कारोबार गरेको छ । निगमको सञ्चिती १९ अर्ब रुपैयाँ छ ।

निगमले अहिले एलपी ग्याँसमा २७५ रुपैयाँ नाफा रहेकाले तेलको भाउ सस्तोमै उपलब्ध गराइरहेको जानकारी समेत दिएको छ ।

६५ अर्ब राजस्व बुझायो
नेपाल आयल निगमले चालु आर्थिक वर्षमा कुल ६५ अर्ब रुपैयाँभन्दा बढी विभिन्न शीर्षकमा राजस्व बुझाएको छ । असार मसान्तसम्म राजस्व ६६ अर्ब रुपैयाँ पुग्ने निगमको भनाइ छ ।

चालु आवमा निगमले भन्सार शुल्कवापत १५ अर्ब १३ करोड, सडक मर्मत शुल्कका लागि ५ अर्ब २ करोड, वातावरण खर्चका लागि ३ अर्ब १ करोड रुपैयाँ राजस्व बुझाएको छ । त्यसैगरी मुअब्जा करवापत २५ अर्ब ५२ करोड रुपैयाँ, पूर्वाधार विकास करवापत १३ अर्ब ६७ करोड रुपैयाँ र आयकर ३ अर्ब ८५ करोड रुपैयाँ राजस्व बुझाएको छ ।

पूर्वाधार विकास कर ४७ अर्ब
निगमले पूर्वाधार विकास करका नाममा मात्रै ४७ अर्ब रुपैयाँ राजस्वका रुपमा सरकारलाई बुझाएको छ । पछिल्लो ५ वर्षमा निगमले कुल ४७ अर्ब रुपैयाँ पूर्वाधार विकास कर उठाएको हो ।

जसमध्ये चालु आर्थिक वर्षमा मात्रै १३ अर्ब ६७ करोड रुपैयाँ उठाएको छ । निगमले आर्थिक वर्ष २०७२/७३ मा पूर्वाधार विकास करवापत १ अर्ब १६ करोड रुपैयाँ, आर्थिक वर्ष २०७३/७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा ११ अर्ब ३६ करोड र आर्थिक वर्ष २०७५/७६ मा १२ अर्ब ४१ करोड रुपैयाँ उठाएको छ ।

यसअघि बुढिगण्डकी विद्युत आयोजनाका लागि पूर्वाधार विकास करका नाममा उठाउँदै आएकोमा अहिले पूर्वाधार विकास करका नाममा मात्रै उक्त राजस्व संकलन गर्दै आएको छ । हाल पेट्रोल र डिजलमाट प्रतिलिटिर १० रुपैयाँ राजस्व उठाउँदै आएको छ ।


क्लिकमान्डु