काठमाडौंमा २ सहित कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो



काठमाडौं । कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतक हुने मध्ये २ जना काठमाडौं र १ जना सिन्धुपाल्चोकका रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षिय पुरुष र काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षिय पुरुष रहेका छन् ।

६० वर्षिय पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको उनको १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै ५४ वर्षिय पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मृगौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते अस्पताल भर्ना भएका उनको २१ गते स्वाव संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

मृत्यु भएका सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षिय पुरुषको २५ गते निधन भएको हो । उनलाई असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल गरिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।


क्लिकमान्डु