साँवा, ब्याज भुक्तानी गर्ने समयावधि बढाउन नेपाल उद्योग वाणिज्य महासंघको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चैत्रदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थाहरुलाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकुल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन माग गरेको छन् ।

महासंघले उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तीय संस्थाहरुको बारम्बारको ताकेताबाट गरेको भन्दै राष्ट्र बैंकसँग सो माग गरेका हुन् ।

लकडाउनको कारण अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको छ । साथै पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भइरहेको महासंघको भनाइ छ ।

महासंघले प्रेस विज्ञप्ती जारी गर्दै चैतदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थाहरुलाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकुल भई अर्थतन्त्र पूर्णरुपमा चलायमान नहुञ्जेलसम्म बढाउन र ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनरसंरचना र पुनर्तालिकिकरण गर्न माग गरेको हो ।

बैंक तथा वित्तिय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय संचालन गरीरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू यस्तो विषम परिस्थितिका कारण यतिखेर गम्भीर संकटमा परेका महासंघले जनाएको छ ।

यसप्रकारको कठिनतम घडीमा अर्थतन्त्रका महत्वपूर्ण आधार उद्योग व्यवसाय बचाउनु राज्यको प्रमुख दायित्व भएकाले साँवा, ब्याज भुक्तानी गर्ने समयावधि बढाउने व्यवस्था गर्ने गरी राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति यही असार मसान्तसम्म ल्याउन आग्रह गरेको छ ।

जटिल परिस्थितिलाई मनन गरी उद्योग व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जान सक्ने हुँदा महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदै निजी क्षेत्रको आवाजलाई समयमै संवोधन गर्न जोडदार माग गरेको छ ।


क्लिकमान्डु