सामाजिक सञ्जालको नाममा ठगी, सस्तोमा खोज्दा परिएला फन्दामा



काठमाडौं । सस्तोमा कुनै पनि समान पायो भनेर मख्ख पर्नुभएको छ ? वा त्यस्ता सामान खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि छ भने तपाई पक्का पनि ठगिदै हुनुहुन्छ ।

पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा अन्य विविधि माध्यमबाट सस्तोमा सामान दिने भन्दै ठगी गर्ने गिरोह राजधानीलगायतका प्रमुख सहरी क्षेत्रमा सक्रिय रहेको पाइएको छ ।

लकडाउनको मौकामा ठगी गर्न उद्यत गिरोहले एउटा सामान देखाउने र अर्को भिडाउने गरिरहेको पाइएको छ ।

महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत् मोबाइल, घडी तथा अन्य महंगो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएको जनाएको छ । प्रहरीले त्यस्ता सामान बिक्री गर्ने गिरोहको प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

महाशाखाले एक सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको पाइएको छ । प्रहरीले त्यस्ता गतिवधि बढेपछि सर्वसाधारणलाई सचेत गराएको हो

यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न भनेको छ । महाशाखाका अनुसार यसरी लोभमा फँस्दा जग्गाजमीनसमेत धितो राखेर प्रलोभनमा परी पैसा दिएको पाइएको छ ।

त्यस्ता व्यक्तिले प्रलोभन दिएको तथा सामान खरिद गर्न आग्रह गरेको पाइए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु