बजेट अधिवेशन अन्त्य भएपछि के होला बजेटको भविष्य ?



काठमाडौं । नेकपाभित्र भएको विवादको कारण बजेट अधिवेशन अन्त्य भयो । योसँगै कतिपयले बजेट के होला भनेर प्रश्न गरेका छन् ।

तर प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बजेट पारित भइसकेको छ । बजेटसँगै सरकारलाई साउन १ देखि खर्च गर्न तथा ऋण लिनको लागि कुनै समस्या हुँदैन ।

पूर्व अर्थसचिव शान्तराज सुवेदी संघीय संसद्बाट बजेटसँगै आएका विधेयकहरु पारित भएको हुँदा बजेट पारित भएको बताए ।

‘बजेटसँगै पेश हुने विधेयकहरु पारित भएको छ, त्यो भएपछि बजेट पारित भइसक्यो,’ सुवेदीले क्लिकमाण्डूसँग भने ।

सरकारले बजेटसँगै ल्याउने नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७७/ ७८को सेवा र कार्यका लागि सङ्‍घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित भएर प्रमाणिकरण समेत भइसकेको छ ।

यस्तै  राष्ट्र ऋण उठाउने विधेयक, २०७७, ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक समेत पारित भइसकेको छ ।

यी चारवटा विधेयक पारित भएपछि बजेट पारित हुन्छ । यो आधारमा सरकारलाई साउन १ गतेदेखि खर्च गर्न कुनै समस्या हुँदैन । बजेट आएको अर्को दिनदेखि नै भन्सार महशुल भने परिवर्तन हुन्छ ।


क्लिकमान्डु