मौद्रिक नीतिमा हवाई उड्डयन क्षेत्रलाई के चाहिन्छ?: योगराज कँडेलको विचार



कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हवाई उड्डयन हो । लामो समयदेखि विमानहरु सञ्चालन हुन नसक्दामा हरेक दिन संकट थपिँदै गइरहेको छ । सबैभन्दा बढी प्रभावित भएको यस क्षेत्रलाई राहत पनि प्राथमिकताका साथ आउनुपर्छ ।

यद्यपि कोरोनाको असर उड्डयनसँगै अन्य क्षेत्रमा पनि उसैगरी परेकाले हामीले धेरै कुरा अपेक्षा गरेका छैनौं ।

तर आगामी मौद्रिक नीतिले यस क्षेत्रका लागि केही कुराको व्यवस्था गरिदिएमा हामीलाई आगामी दिनमा हवाई उड्डयन क्षेत्रलाई सर्भाइभ र रिभाइभ गर्नका लागि सहज हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।

हामीले माग गरेको पहिलो रि–फाइनान्सिङ हो । सस्तो ब्याजदरमा सरल रुपमा रिफाइनान्सिङ पाउनु पर्छ । अब यसमा ६ महिनादेखि १ वर्षसम्मका लागि रिफाइनिन्सिङको व्यवस्था गर्नुपर्छ । यसो गर्दा हामीलाई सरल हुन्छ ।

दोस्रो विषय हामीले सञ्चालन खर्चका लागि ५० अर्ब रुपैयाँको जुन रकम छ त्यसलाई सरल बनाइदिनुहोस् । भूकम्पको समयमा पनि यस्तो आएको थियो तर सरल विधि नहुँदा २ प्रतिशतले पनि प्रयोग गर्न पाएनन् । त्यस्तो अवस्था अहिले नआओस भन्नका लागि सरल बनाइदिनुपर्छ ।

तेस्रो कुरा हामीले अहिले बैंकबाट लिएको कर्जाको किस्ता चैतसम्म दिन सक्छौं भन्ने लाग्छ । अहिले हामीसँग सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्थामा शुन्य अवस्थामा छ । अहिले उठ्न बाँकी पैसा पनि नउठ्ने भएकाले त्यसैले कम्पनीहरुको खर्च अनुसार ५÷१० करोड रुपैयाँसम्म सहुलियत रुपमा दिनुपर्छ ।

त्यसैगरी अहिले बैंकको कर्जाको ब्याज पनि तिर्न नसक्ने अवस्था भएको छ । त्यसैले अहिले कम्तीमा पनि पुस मसान्तसम्म वा अझ राम्रो त सामान्य अवस्था भएको ६ महिनासम्मका लागि किस्ता तिर्ने समय पर धकल्दिेन हो भने अझ सहज हुन्छ ।

त्यसभन्दा बढी त सरकारले पनि सक्दैन । त्यो कुरा हामीले पनि बुझ्नुपर्छ । पोहोर साल यतिबेला जति राजस्व उठेको थियो त्यो अहिले छैन । त्यसैले सरकारसँग धेरै माग राख्नुभन्दा पनि अहिले सर्भाइभलका लागि यति कुरा मौद्रिक नीतिमा व्यवस्था गरिदिएको अवस्थामा हामीलाई निकै सहज हुन्छ ।


क्लिकमान्डु