काठमाडौं महानगरपालिकामा दादुरा-रूबेला खोप अभियान सूचारु, एनसेलले पनि सहयोग गर्ने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिकाभित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सूचारु गरेको छ ।

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ ।

गतवर्ष फागुनमा शुरु गरिएको यो बहुप्रतिक्षित खोप अभियान कोरोना भाइरसको महामारी तथा लकडाउनले गर्दा पूरा हुन सकेको थिएन । काठमाडौं महानगरपालिकाका खोप केन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै तथा अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाइ असार ११ बाट शुरु भएको छ । यो अभियानमा काठमाडौं महानगरपालिकाभित्र रहेका १ लाखभन्दा बढी बालबालिकालाई दादुरा– रुबेला खोप लगाउने सरकारी लक्ष्य छ ।

सरकारी तथ्यांकले सन् २०१५ पश्चात दादुरा–रुबेला रोगका घटना निकै बढ्दो क्रममा रहेको देखाउँछ । कोरोना भाइरस महामारी कै बेलामा काठमाडौंलगायत विभिन्न जिल्लाका बालबालिकामा दादुराको संक्रमण देखिएको छ ।

सन् २०२० को पाँचौ महिना मेको मध्यसम्ममा ३२५ भन्दाबढी बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ ।

सन् २०१९ मा ४३१ बालबालिकामा यो संक्रमण देखिएको थियो ।

परिवार कल्याण महाशाखाका अनुसार पहिले खोप लगाएका तथा नलगाएका ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई यस अभियान अन्तर्गत अनिवार्य खोप लगाउनु पर्छ । यो अभियान काठमाडौं महानगरका ३२ वडामा तीन चरणमा सञ्चालन भइरहेको छ ।

पहिलो चरण अन्तर्गत असार ११ गतेदेखि १३ गतेसम्म वडा नम्बर ६, ७, ८,९, १०, ३१ र ३२ मा खोप कार्यक्रम सञ्चालन गरिएको छ । दोस्रो चरणमा वडा नम्बर १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० मा असार १४ गतेदेखि १६ गतेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

त्यस्तै, तेस्रो चरणमा वडा नम्बर १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा असार १७ गतेदेखि १९ गतेसम्म खोप लगाइने छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग गतवर्ष समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । यही समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिमा सरकारलाई सहयोग पुर्याउँदै आएको छ ।

यो सहकार्यले बालबालिकाको जीवनरक्षासँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निर्मूल गर्ने नेपाल सरकार र विश्वस्वास्थ्य सँगठनको लक्ष्यमा योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । एनसेलले सरकारलाई कोरोना भाइरस सम्बन्धी जनचेतना अभिवृद्धि तथा रोकथाममा पनि सघाउँदै आएको छ ।


क्लिकमान्डु