भूमि फिर्ता ल्याउन ३ पटक पत्र पठाउँदा पनि भारतले चासो देखाएन
काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिनका लागि सरकारले ३ वटा पत्र पठाउँदा पनि भारतले चासो नदेखाएको पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकपछि प्रतिक्रिया दिँदै मन्त्री भट्टराईले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्र समेटेर नक्सा जारी गरी संविधान संशोधन भइसकेको सम्बन्धमा बैठकमा चर्चा भएको बताए ।
बैठकमा भूमि फिर्ता लिन गरिएका प्रयासबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग भएका विभिन्न बेलाका सन्धि, सम्झौता र छलफलको प्रगतिको विषयमा जानकारी गराएका थिए ।
‘लिम्पियाधुरा, लिपुलेक र कालामानी क्षेत्रको समस्या समाधानका लागि वार्ता गर्न नोभेम्बर, डिसेम्बर र जनवरीमा गरी तीनपटकसम्म पत्र पठाउँदा समेत भारतले चासो नदेखाएको मन्त्री ज्ञवालीलाई उदृत गर्दै भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमा विवाद तथा समस्या समाधानका लागि भारतसँग भएका प्रयासका बारेमा शुक्रबार छलफल भएको छ ।
त्यसैगरी बैठकमा मन्त्री प्रदीप ज्ञवालीले कोभिड १९ को महामारी कम भएपछि मात्रै वार्तामा बस्ने अनौपचारीक जानकारी आएको बताएका थिए ।
यस्तै छिमेकी चीनसँग पछिल्लो समय सञ्चारमाध्यममा आएजस्तो कुनै सीमा समस्या नरहेको समेत मन्त्री ज्ञवालीले स्पष्ट पारेका थिए ।
बैठकमा सीमा क्षेत्रमा डुवानको समस्या, अपराधिक गतिविधि, लगायतका विषयमा छलफल भएको थियो । बैठकमा विभिन्न १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका छन् ।
नेताहरुले नेपालको अतिक्रमित भूमि समेटेर सरकारले जारी गरेको नक्साको प्रशंसा गर्दै भूमि फिर्ताका लागि कूटनीतिक संवादमा जानुपर्ने नेताहरुले बताए । बैठक शनिबार ११ बजे बस्नेछ ।