काठमाडौं महानगरले एक महिनाको भाडा छुट दिने घरधनिलाई वार्षिक करमा छुट दिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाका कारण एक महिनाको घर बहाल छुट दिने घरधनिलाई घर बहाल कर चुक्ता गर्दा वार्षिक करमा १० प्रतिशत छुट दिने भएको छ ।

काठमाडौं महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/७८ को बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गर्दै आगामी वर्ष बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न घरधनि आएमा वार्षिक बहाल करमा दश प्रतिशत छुट दिने घोषणा गरेको हो ।

हाल बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकोे प्रभावले घर भाडामा बस्ने नगरबासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरि यस्तो व्यवस्था गरेको जनाएको छ ।

कम्तीमा आव २०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतको बहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताका हकमा कोरोनाका कारण कम्तीमा एक महिनाको घर बहाल छुट दिने घरधनिले छुट दिएको स्वघोषणा गरेमा आर्थिक बर्ष २०७७/७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा १० प्रतिशत छुट दिई बहाल कर मिलान गरिने उक्त विधेयकमा उल्लेख छ ।

महानगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, जग्गा वा पोखरी वा अन्य सम्पत्ति पूरै वा आंशिक तबरले बहाल लगाएकोमा बहाल रकम स्वंय घोषणा गर्न सक्ने व्यवस्था रहेको छ ।

करदाताले गरेको स्वयं घोषणा वा बहाल लिने दिने बीच भएको सम्झौता बमोजिमको बहाल दर वा कूल बहाल रकम सूत्रबाट कायम हुने दर अनुसारको बहाल रकमभन्दा बढी हुन आएमा स्वयं घोषणा वा सम्झौता अनुसारको रकमलाई बहाल रकम मानी बहाल कर असूल उपर गरिनेछ ।

कूल बहाल रकमको वार्षिक १० प्रतिशतका दरले बहाल कर लगाई असुल गरिनेछ । विधेयकमा उल्लेख भएअनुसार वार्षिक १ लाख रुपैयाँ भन्दा कम बहाल आम्दानी भएका र अन्य कुनै आम्दानी गर्ने स्रोत नरहेका करदाताहरुले बहाल कर छुट माग गरेमा सम्वन्धित वडा समितिले वास्तविक अवस्था बुझी व्यहोरा मनासिव भएमा वडा समिति बैठकले निर्णय गरी चालु आर्थिक वर्षका लागि लाग्ने बहाल कर छुट दिइने व्यवस्था गरेको छ ।

एक लाख वा सोभन्दा बढी बहाल आम्दानी गर्ने करदाताको हकमा भने कुनै छुट हुने छैन । यसरी बहाल कर छुट दिने गरी वडा समितिले गरेको निर्णय सम्बन्धित वडा कार्यालयमा अभिलेखिकरण गरी राखिने विधेयकमा उल्लेख छ ।


क्लिकमान्डु