राष्ट्रिय सभामा कोमल ओलीको प्रश्नः सरकारी सफ्टवेयर हुँदाहुँदै असुरक्षित जुम किन प्रयोग गर्ने ?
काठमाडौं । सोमबार पर्यटनमन्त्री योगेश भट्टराईले जुम मिटिङमा सम्बोधन गर्दागर्दै पोर्न बजेपछि यसको सुरक्षालाई लिएर सांसद कोमल वलीले प्रश्न उठाएकि छन् ।
मंगलबार राष्ट्रियसभाको शुन्य समयमा बोल्दै वलीले सरकारको आफ्नै सफ्टवेयर हुँदाहुँदै किन असुरक्षित जुम प्रयोग गर्ने भन्दै प्रश्न उठाइन ।
‘अहिले हामी डिजिटल वर्ल्डमा सक्रिय छौं । सोही माध्यमबाट भिडियो कन्फरेन्स र मिटिङहरु सञ्चालन गरिरहेका छौं । तर जुम लगायतका सफ्टवेयरमा सुरक्षाको प्रश्न उठिरहेको छ,’ उनले भनिन्, ‘राष्ट्रिय सूचना केन्द्रका अनुसार सरकारले आफैले सोर्स कोड प्रयोग गरेर निर्माण गरेको आफ्नै सफ्टवेयर हुँदाहुँदै त्यो किन प्रयोग नगर्ने ?’
उनका अनुसार सरकारको उक्त सफ्वेयरमा पनि २ सय जनाले एकैपटक कुरा गर्न सक्ने भएकाले सरकारी क्लाउडबाट सेवा दिन सकिन्छ भने अन्यतिर किन ध्यान दिने ?
सोमबार दिउँसो नेपाल पर्यटन बोर्डले आयोजना गरेको जुम मिटिङका क्रममा पर्यटनमन्त्री योगेश भट्टराई बोल्न शुरु गरे लगत्तै ह्याकरले पोर्न बजाइदिएको थियो ।
त्यसपछि यसको सुरक्षालाई लिएर अनेकन चर्चा शुरु भएको छ । यद्यपि उक्त घटनाबारे नेपाल प्रहरीले अहिले छानबिन शुरु गरेको छ ।
जुम प्रयोग असुरक्षित भएको विषयमा भारत, जर्मन र अमेरिकामा समेत यसबारेमा आलोचना भइरहेको छ ।