मिलेर नक्सा पास गर्दा ९० प्रतिशतसम्म छुट दिने काठमाडौं महानगरको घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरक्षित भवन निर्माण गर्न महानगरवासिलाई प्रोत्साहित गर्ने भएको छ ।

महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै दुई वा दुईभन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सा पास दस्तुरमा ९० प्रतिशत छुट दिने बताए ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका जोखिमयुक्त घर सुरक्षित बनाउन प्रोत्साहन गरिनेछ । यसको लागि महानगरपालिकाले निश्चित अनुदानको ब्यबस्था गर्नेछ ।

महानगरपालिकाबाट स्वीकृत भएको नक्साको डिजिटाईजेशन गर्नुका साथै नक्शा पास गर्दा डिजिटल प्रविधिको पूर्ण प्रयोग यसै बर्षदेखि गरिनेछ । नीति तथा कार्यक्रममा काठमाडौं महानगर क्षेत्रभित्रका भवनहरुको सबलता, सुरक्षा र जोखिम न्यूनीकरण गर्न प्रचलित भबन निर्माण सम्वन्धी मापदण्डमा समयानुकुल संशोधन गरि कार्यान्वयनमा ल्याईने उल्लेख छ ।

हाल सञ्चालनमा रहेको मनोहरा जग्गा एकीकरण आयोजना अन्तर्गतको काठमाडौं महानगरपालिका क्षेत्रमा हुने भवन निर्माणलाई व्यवस्थित गर्न विशेष नीति र मापदण्ड जारी गरी सो क्षेत्रलाई नमुना वस्तीको रुपमा विकास गरिने उल्लेख छ ।

काठमाडौंको भित्री सहरमा रहेका पुराना भवनहरुको जोखिमलाई न्यूनीकरण गर्न त्यस्ता भवनहरुको स्थानमा सुविधा सम्पन्न एकीकृत वस्ती विकास गर्ने नीति लिइनेछ ।

स्थानीय घरधनीहरुकोे सहमति र प्रत्यक्ष सहभागितामा र सरकारका सम्बद्ध निकायहरुको आवश्यक सहयोग तथा समन्वयमा नमुना आवास क्षेत्रको विकास गर्ने कार्य काठमाडौ महानगरपालिका–१८ वडा अन्तर्गतको किलांक्व दम्बोचुकबाट सुरु गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

उर्जा प्रभावकारी भवनबारे जनचेतना अभिबृद्धि गर्न संभाव्य देखिएका वडा कार्यालय तथा सार्वजनिक भवनहरुलाई उर्जामैत्री बनाउने कार्यको थालनी गरिने र त्यस्ता भवनहरुको निर्माण सम्पन्न दस्तुरमा छुट दिने नीति लिइने उल्लेख छ ।


क्लिकमान्डु