असारभित्रै टनेलमा टेस्टिङ गर्छौ, मेलम्चीको पानी आगामी आवमा आउँछः मन्त्री मगर



काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्चीले काठमाडौंबासी मात्रै नभएर सबै नेपालीमा अन्योलता भएको बताएकी छिन् ।

राष्ट्रियसभाको बैठकमा मन्त्री मगरले विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै मेलम्ची धेरैलाई निराशा बनाएको स्वीकार्दै मन्त्री मगरले आगामी आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाउने बताइन ।

चालु आर्थिक वर्षभित्र नै अहिले वितरण गर्ने बैकल्पिक व्यवस्था अनुसारको कार्यक्रमलाई भौतिकरुपमा सम्पन्न गर्ने दाबी गरिन ।

असारभित्रै टनेलमा पानी टेस्टिङ प्रक्रियामा पानी पठाउने र त्यो सकेपछि पानी सुन्दरीजलमा झार्ने दाबी गरिन ।

पानी सुन्दरिजलमा आएपछि काठमाडौं बासीको घरमा मेलम्चीको शुद्ध पानी जाने बताइन् । उनले धेरै शंका र उपशंका नगर्न समेत सांसदहरुलाई आग्रह गरेकी छिन् ।

मन्त्री मगरले मेलम्ची खानेपानी भूकम्प, विभिन्न समयमा हुने अवरोध, कर्मचारीको आन्दोलन, पटक–पटक ठेक्का तोडनु पर्ने बाध्यात्मक अवस्था, कोरोना प्रकोप लगायतका कारण काम गर्न समस्या भएको बताइन ।

उनले विभिन्न कठिनाइका बाबजुद पनि पहिलो चरणको काम चालु आवमा काम सक्ने र आगामी आवको शुरुमा नै काठमाडौं उपत्यकामा पानी वितरण गर्ने दाबी गरेकी हुन् ।

अनेकन कठिनका बाबजुद पनि मेलम्चीको उद्घाटन हुने क्रममा रहेकोले आफू गौरवान्वित भएको उनको तर्क छ । ‘त्यो दिन नेपाल र नेपालीको लागि खुसीको दिन हुनेछन्’ उनले भनिन् ।

बैठकमा सांसदहरुले संविधानको धारामा मात्रै खानेपानीको व्यवस्था गरिने हो की मान्छेको घरको धारामा पानी पानी आउने हो भन्दै प्रश्न गरेका थिए ।


क्लिकमान्डु