निर्यात वृद्धिदर ४.५ प्रतिशतमा सीमित, आयात १३ प्रतिशतले घट्यो



काठमाडौं । चालु आवको १० महिनामा निर्यात वृद्धिदर ४.५ प्रतिशतमा सीमित भइ ८२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८.९ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा गन्तव्यका आधारमा भारततर्फ १६.१ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८.६ प्रतिशत र १४.६ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एमएस. पाइपलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैंचा, जुसलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को दश महिनामा कुल वस्तु आयात १३ प्रतिशतले घटेर १० खर्ब २५ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.५ प्रतिशत, ७.६ प्रतिशत, र २.९ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेललगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस. बिलेट, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, विराटनगर र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को दश महिनामा कुल वस्तु व्यापार घाटा १४.२ प्रतिशतले घटी भई ९ खर्ब ४३ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १९.७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.७ प्रतिशत रहेको थियो ।

त्यसैगरी वार्षिक विन्दुगत आधारमा २०७७ बैशाख महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक २.४२ प्रतिशतले र आयातमूल्य सूचकांक ३.७० प्रतिशतले घटेको छ ।

२०७६ बैशाख महिनामा १.४० प्रतिशतले घटेको व्यापारको सर्त २०७७ बैशाख महिनामा १.३० प्रतिशतले बढेको छ ।


क्लिकमान्डु