सेयर लगानीकर्ताले पाउँदैछन् मौद्रिक नीतिमार्फत ठूलो राहत, बोर्डले दियो राष्ट्र बैंकलाई यस्तो सुझाव



काठमाडौं । सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति मार्फत माग अनुसारको राहत पाउने भएका छन् ।
बोर्डका अधिकारीका अनुसार कोरोना भाइरसले सेयर बजारमा पारेको असरलाई न्यूनिकरण गर्नको लागि भन्दै बोर्डले राष्ट्र बैंकलाई पत्र पठाएको छ ।

लगानीकर्ताले लामो समयदेखि ब्रोकरको मार्जिन सिमा बढाउन, सेयर धितोकर्जा स्वत नविकरण गर्न माग गर्दै आएका थिए । उनीहरुको माग मौद्रिक नीतिले पुरा गर्ने सम्भावना बढेको छ ।

सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले वैशाख पहिलो साता नै नेपाल राष्ट्र बैंकलाई पत्र पठाएर ब्रोकरको मार्जिन सीमा ६० बाट ७५ प्रतिशत पुर्याउन माग गरेको छ । जुन लामो समयदेखि लगानीकर्ताले माग गर्दै आएका थिए ।

यस्तै धितोपत्र बोर्डले राष्ट्र बैंकलाई पठाएको सुझाव पत्रमा विद्युतीय कारोबारको सिमा १० लाख रुपैयाँलाई हटाउन आग्रह गरिएको छ । पूर्ण अनलाइनबाट कारोबार सुरु हुन थालेपछि लगानीकर्ताको पैसा खातामा नै आउने र खाताबाट नै काटिने हुँदा यो सिमा आवश्यक रहेको बोर्डको तर्क छ ।

यस्तै बोर्डले सेयर धितो कर्जा पनि स्वतः नविकरण गरिदिने व्यवस्था गर्न राष्ट्र बैंकलाई पठाएको सुझावमा उल्लेख छ ।
मौद्रिक नीतिमा उक्त सुझाव समावेश भएको खण्डमा पुँजी बजारलाई सुधारको लागि ठूलो राहत हुने बोर्डको भनाइ छ ।


क्लिकमान्डु