सुदुरपश्चिम प्रदेशले यी क्षेत्रमा लाग्ने करमा दियो छुटैछुट



काठमाडौं । सुदुरपश्चिम प्रदेशले आगामी वर्षका लागि विभिन्न क्षेत्रमा कर छुटको व्यवस्था गरेको छ ।

प्रदेशले आर्थिक ऐन २०७७/७८ मार्फत विभिन्नमा कर छुटको व्यवस्था गरेको हो ।

जस अन्तर्गत ब्याज, शुल्क, दस्तुर र थप दस्तुर छुट सम्बन्धि विशेष व्यवस्था गरेको छ । प्रदेश सरकारलाई बुझाउन बाँकी आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को कर सम्वत् २०७७ साल असोज मसान्तभित्र बुझाउनेलाई सो वापत लाग्ने ब्याज, शुल्क, दस्तुर र थप दस्तुर छुट हुनेछ ।

त्यस्तै, कोभिड(१९ का कारणले भएको बन्दाबन्दीको समयमा फर्म नविकरण गर्ने म्याद समाप्त भइ नविकरण गर्न नपाएका तथा फर्म नविकरण गर्ने म्याद समाप्त भएका अन्य व्यवसायीहरुले नविकरण दस्तुर बुझाइ २०७७ असोज मसान्तभित्र फर्म नविकरण गरेमा त्यसवापत लाग्ने सबै प्रकारका जरिवाना र थप दस्तुर मिनाहा हुनेछ ।

प्रदेशले विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गरी कृषि आयमा लाग्ने कर पूर्ण छुटको व्यवस्था गरेको छ । कृषिमा आयमा प्रदेशले यसअघि २० लाख रुपैयाँसम्म ५ हजार रुपैयाँ, त्यसभन्दा माथि ४० लाख रुपैयाँसम्म १० हजार रुपैयाँ, त्यसभन्दा माथि १ करोड रुपैयाँसम्मको आयमा २५ हजार रुपैयाँ, त्यसभन्दामाथि ५ करोड रुपैयाँसम्म १ प्रशित र त्यसभन्दा माथिको आयमा २ प्रतिशतले कर असुल्दै आएको थियो ।

त्यसैगरी बाँझो रहेको खेतियोग्य जमिनमा लाग्ने करमा तपाई क्षेत्रमा १० कठ्ठादेखि १ बिगाहसम्म १ हजार रुपैयाँ, त्यसभन्दा माथि २ बिगाहासम्म ३ हजार रुपैयाँ, त्यसभन्दा माथि ५ बिगाहसम्म १० हजार रुपैयाँ र ५ बिगाभन्दा माथिको हकमा वार्षिक रुपमा २५ हजार रुपैयाँ कर लिँदै आएको थियो ।

त्यसैगरी अन्य क्षेत्रको हकमा भने १० रोपनीदेखि २० रोपनीसम्म ५ सय, २० रोपनीदेखि ३० रोपनीसम्म १ हजार, ३० रोपनीभन्दा माथिको हकमा २ हजार रुपैयाँले कर लिँदै आएको थियो ।

पर्यटनतर्फ प्रदेश आफैले निर्माण गरेको पर्यटकीय स्थल, पर्यटन व्यवसाय र पर्यटकीय क्रियाकलापमा सेवाको लागत, सञ्चालन र सम्भार खर्चलाई आधार मानी १० प्रतिशतका दरले लाग्दै आएको शुल्क पूर्णरुपमा छुट दिइएको छ । यसअघि विभिन्न पर्यटकीय स्थलहरुको प्रवेश शुल्कमा प्रतिटिकट १० प्रतिशतका दरले पर्यटन शुल्क लाग्नेछ ।

त्यसैगरी चलचित्र प्रदर्शन गर्दाको प्रतिटिकट, कन्सर्ट, नाटकघर, भिडियो घर, थिएटर, स्वीमिङ पुल, पार्क, फानपार्कमा प्रतिटिकट, मेला महोत्सव, सास्कृतिक प्रदर्शन, खेलकुद प्रतियोगिता प्रतिटिकट ३ प्रतिशत मात्रै कर लाग्नेछ । यसअघि यी क्षेत्रमा ५ प्रतिशत कर लाग्थ्यो । साथै डिजिटल तथा एनालग टेलिभिजनको जडानमा प्रति २०० रुपैयाँमा १५० रुपैयाँ छुट दिइ ५० रुपैयाँ कायम गरिएको छ ।


क्लिकमान्डु