अब भुक्तानी प्रदायकले पनि साधारण सेयर जारी गर्नुपर्ने



काठमाडौं । भुक्तानी प्रदायक संघ संस्थालाई पनि साधारण सेयर जारी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट विनियमावली २०७७ जारी गरी यस्तो व्यवस्था गरेको हो ।

जसअनुसार अब इसेवा, आइएमई पे, सेल पेलगायत मनिट्रान्सफरले पनि स्थापना भएको ३ वर्षपछि साधारण सेयर जारी गर्नुपर्ने हुन्छ । हाल नेपालमा राष्ट्र बैंकबाट सञ्चालनको अनुमति लिएका १३ वटा भुक्तानी सेवा कम्पनीहरु छन् ।

भुक्तानी प्रदायक संस्थाले अन्य संस्थासँग सम्झौता गरेर बाह्य सेवा समेत प्रदान गर्न सक्ने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले जारी गरेको विनियमावलीमा उल्लेख गरिएको छ । यस्तै एजेन्टमार्फत् समेत सेवा प्रदान गर्न सक्ने विनियमावलीमा उल्लेख छ ।

यसैगरी, केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायको अनिवार्य ३ देखि ७ सदस्य रहेको सञ्चालक समिति हुनुपर्ने निर्देशन गरेको छ । साथै संचालक तथा प्रमुख कार्यकारीको योग्यता पनि राष्ट्र बैंकले तोकेको छ ।

सो विनियमावलीमा भुक्तानी प्रदायकले सेटलमेन्ट बैंकसँग सम्झौता गर्नुपर्ने सञ्चालक समितिको गठन गर्ने तथा सञ्चालक समिति अध्यक्षले डेपुटी गभर्नर अथवा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक समक्ष सपथ ग्रहण गर्नुपर्नेलगायतको व्यवस्था गरेको छ ।


क्लिकमान्डु