चकलेटमा कर घटाउने नीतिमा रक्षात्मक अर्थमन्त्री, भने- कुनै व्यवसायीलाई हेरेर मात्रै निर्णय गरेको होइन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चकलेट आयातमा घटाइएको भन्सार करबारे रक्षात्मक जवाफ दिएका छन् ।

बजेटमार्फत् चकलेट आयातमा १० प्रतिशत कर घटाएको र कुनै एक कम्पनीलाई फाइदा हुने गरी ल्याइएको भन्दै चर्को विरोध भएपछि अर्थमन्त्री खतिवडा रक्षात्मक हुँदै स्पष्टिकरण दिएका हुन् ।

‘कुनै एक कम्पनी वा फर्मलाई हित हुने गरी कर घटाइएको होइन, चकलेट आयात गथर्ने १२३ कम्पनी छन्,’ मंगलबार प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री खतिवडाले भने ।

विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खतिवडाले आव २०७१/०७२ देखि चकलेटको भन्सारदर ३० प्रतिशत रहेको र गत वर्ष केही वस्तुको करमा माथि लैजाने क्रममा ४० प्रतिशत गरेको र फेरि यो वर्ष समायोजन गरेर ३० प्रतिशतमा झारेको भन्दै स्पिष्टकरण दिए ।

‘कुनै व्यवसायीलाई हेरेर गर्ने भन्ने होइन । कुनै माननीय सदस्यले भनेको जस्तो अर्बौको चकलेट आयात हुने पनि होइन, चोरी पैठारी हुने सम्भावना रहेको सामानको भन्सार घटाइएको हो । संसदमा उठेको विषयमा केही खाद्य वस्तुको भन्सार दर र मूल्य अभिवृद्धि कर हटाइएको÷ घटाइएको छ,’ उनले भने ।

मन्त्री खतिवडाले विद्युतीय सवारी साधनको कर पेट्रोलबाट चल्नेको सवारीको भन्दा कम हुनुपर्ने मान्यता भएपनि कति कम हुनुपर्छ भन्ने विषयमा छलफल आवश्यक भएको बताए ।
उनले सार्क मुलुकमा विद्युतीय सवारीको भन्सार ४० देखि १०० प्रतिशत र अन्तशुल्क सहित १०० प्रतिशतसम्म रहेको समेत दाबी गरे ।

भारतले नाकाबन्दी गरेको समयमा १० प्रतिशत भन्सारमा विद्युतीय सवारी आउन सक्ने बोल्ड निर्णय गरेको र सार्वजनिक सवारीलाई १ प्रतिशत गरेको उनले बताए ।

सार्वजनिकको अहिले पनि १ प्रतिशत नै रहेको बताए । विद्युतीय सवारीमा निजी गाडीको हकमा केही बढाएको बताए ।

सार्वजनिक सवारी साधनलाई प्रोत्साहन गर्न आग्रह गरेका छन् । विद्युतीय गाडीले विद्युत खपत गर्ने भन्दैमा गाडीले १००/१५० मेगावाट खपत भएपनि अन्य क्षेत्रमा विद्युतको उपभोग हुने कुराको विस्तार नभएसम्मका लागि गाडी कुदाएर मात्रै सम्भव नहुने बताए ।


क्लिकमान्डु