प्रधानमन्त्रीको जिल्ला झापामा पुलका २६ वटा योजना
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीको जिल्लामा २६ वटा पुल निर्माणको लागि बजेट विनियोजन गरेको छ ।
आगामी आवमा सरकारले झापाका २६ पुलको लागि भनेर ९ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
झापाका विभिन्न खोलाका लागि पुनः निर्माणको लागि विनियोजन गरेको बजेटमा अधिकाशंकलाई ४७ लाख ५० हजार र केहीलाई ७ लाख रुपैयाँका दरले दिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ६ वटा पुलको लागि ७ लाख र बाँकी २० वटा पुलको लागि ४७ लाख ५० हजार रुपैयाँको दरले बजेट दिइएको छ । झापा जिल्लाको विभिन्न पुलको लागि छुट्याएको बजेटमा सबैभन्दा कम झापा जिल्लाको कमल खोला पुल, धरमपुर र तोपगाछी जाविस बीचको लखनवुर मुझुभिट्टा क्यान– मंगलबारे शिवगंज सडक, टाइटिंगखोला कज्वे दानावारी शिविर जाने बाटो, रामचन्द्र खोला पुल र दामुना खोला कल्भर्ट बानियाटोली लक्ष्मी मन्दिरका लागि ७ लाख बजेट दिइएको छ ।
यस्तै वडा नम्बर ३ र ४ को हडिया खोलाको पुलको लागि ७ लाख, किस्ने खोलाको पुल र ग्वाल्डुवा बैगुन्धरा सडकको लागि ७ लाख, गेउरी खोलामा पुल निर्माण र खजुरगाछी गौरीगञ्ज थोडनको लागि ७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।