ग्राहक नबिल बैंकसम्म आउनु पर्दैन, डिजिटल बैंकिङमा फोकस गर्दैछाैंः अनिल शाह (भिडियोसहित)



नबिल बैंकले आइतबारदेखि ‘जेन–एन अकाउन्ट’ सार्वजनिक गरेको छ । भौतिक उपस्थितीले कोरोना भाइरसको जोखिम बढ्ने भएकाले लकडाउनका बीचमा डिजिटल बैंकिङलाई आक्रमक रुपमा विस्तार गर्नुपर्छ भन्ने सोच आएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह बताउँछन् । नबिल बैंक विभिन्न सूचकहरुले देशकै नम्बर वान बैंक हो । आगामी दिनमा नम्बर वान रही रहनका लागि पनि डिजिटल बैंकिङ केन्द्रित हुनु परेको शाहको भनाइ छ । र, जेन–एन अकाउन्ट युवापुस्ता लक्षित बचत योजना हो । ग्राहकले लकडाउनको अवधिमा घर बसीबसी सम्पूर्ण सेवा लिने खालको स्किम चाहियो भनेपछि यो प्रडक्ट ल्याइएको उनको भनाइ छ । बैंकले आइतबार सार्वजनिक गरेको नयाँ प्रडक्टमा केन्द्रित रहेर प्रमुख कार्यकारी अधिकृत शाहसँग क्लिकमाण्डूले गरेको कुराकानी ।

नविल बैंकले आजमात्रै ‘जेन–एन अकाउन्ट’ नामक नयाँ बचत योजना सार्वजनिक गरेको छ । यो कस्तो प्रडक्ट हो ?
‘नेसेसिटी इज मदर अफ इन्भेन्सन’ भन्ने हुन्छ । त्यसैअनुसार जब कोरोना भाइरसको महामारी आयो, त्यसैलाई सम्बोधन गर्नका लागि डिजिटलमा जान खोजिएको हो । सोहीअनुसार नयाँ स्किम आएको हो ।

वित्तीय सेवा डिजिटलमाध्यमबाट दिन सकिन्छ भनेर सबै वित्तीय संस्थाहरुले हेरिरहेको अवस्था छ । योभन्दा अघि हामीले ‘ई एट नबिल’ स्किम कर्पोरेट संस्थाहरुका लागि ल्याएका थियौं । त्यसमा कर्पोरेटहरुले तलबदेखि, फन्ड ट्रान्सफरहरुदेखि लिएर सबै काम कम्प्युटबाटै गर्न सक्ने र २÷३ वटा हस्ताक्षर चाहिने कुरालाई पनि मिलाएर ल्याएका थियौं ।

के यो प्रडक्ट पनि कोभिडकै कारणले शुरुवात भएको हो ?
पक्कै पनि । कोभिडका कारण मानिसहरु घरमै बस्न बाध्य हुनुभयो । बैंकसम्म पुग्न, पैसा राख्न निकाल्नका लागि पनि समस्या भएपछि यो आइडिया आएको हो । र, यो लकडाउनले नै ल्याएको कन्सेप्ट हो ।

केन्यामा एम पैसा भन्ने मोबाइलको एप छ । जसमा बैंकका सबै काम गर्न पाइन्छ । यो एप सबै केन्याका नागरिकले चलाउँछन् । हामीलाई पनि यो आइडिया आएको थियो । त्यस विषयमा अध्ययन गर्दा केन्यामा एम पैसा चलेको कारण त्यहाँको क्राइम रहेछ । पैसा बोक्यो कि चक्कु र बन्दुक देखाएर लुटिहाल्ने भएपछि मानिसहरुले सुरक्षित हुनका लागि एम पैसा एप चलाउन थालेका रहेछन् ।

जसरी केन्यामा क्राइमका कारण डिजिटल बैंक बुम भयो नेपालमा कोरोनाका कारणले डिजिटल बैंकिङलाई बुस्ट गरेको छ । अहिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङबाट कारोबार बढेको छ ।

अब हामीले पनि लकडाउन खुलेपछि पनि ग्राहकहरु बैंक आउन नपरोस् भन्ने हो । जसरी मानिस एटीएम चलाइसकेपछि बैंकमा निकै कम धाउँछन् । त्यसरी नै डिजिटल बैंकिङको सेवा लिएपछि बैंकसम्म आउनुपर्ने बाध्यता नरहोस् भन्ने हाम्रो उद्देश्य र चाहना हो ।

यसमा ग्राहकले कस्तो सुविधा पाउँछन् ?
अहिले हामीले जेन–एन अकाउन्ट भनेर ल्याएका छौं । यसमा सबैले घरमै बसेर सबैले गर्न सक्छन् । त्यसमा पनि युवालाई बढी लक्षित गरेका छौं । यसमा अकाउन्ट खोल्न नै घरमै बसेर कम्प्युटरमार्फत् खोल्न सक्नुहुन्छ ।

खातामा पैसा हाल्नका लागि पनि अर्को अकाउन्टबाट मोबाइलमार्फत पैसा पठाउन पनि सक्छन् । यो सेवा लिने सबैलाई नमस्ते वा एनसेलमा २ जीबी डाटा पनि दिन्छौं । त्योसँगै डिजिटल सेवाहरु निशुल्क गरिदिएका छौं ।

जसको अकाउन्ट नै छैन उहाँहरुले पनि अकाउन्ट खोल्न सक्नुहुन्छ । त्यसपछि उहाँहरुले गरेको काम अर्को जेनेरेसनले पनि सिकोस भन्ने हो । १८ वर्षभन्दा माथिका सबैले खाता खोल्छ सक्छन् ।

जसरी हामीले अग्रजबाट धेरै कुराहरु सिक्यौं । सोही अनुसार अब हाम्रो जेनेरेसनबाट पनि अरुले यस्ता कुराहरु सिकुन भन्ने हो । उहाँहरुलाई त्यो अवसर दिन लागेको हो । यसको लञ्च पनि डिजिटल्ली नै भएको छ ।

र, यसमा एउटा कुरा हामीले गहिरो अध्ययन गर्दा नबिल बैंकको सबैभन्दा महत्वपूर्ण गुण सुरक्षा हो । नबिलमा सबैले ढुक्क हुन सक्नुहुन्छ । यो जेन–एन अकाउन्टको मुख्य विशेषता नै ‘ढुक्क’ हो । यहाँ पैसा राख्दा ब्याज पनि आउँछ र सुरक्षित पनि छ । हामीसँग सबै खालका सेक्युरिटी पनि छ । हामीले ग्राहक बन्नुहोस् बैंक नआउनुस नै भन्ने हो ।

जेन-एन अकाउन्टमा ब्याजदर कति हुन्छ ?
जेन–एन अकाउन्टमा ४ प्रतिशत ब्याजदर दिन्छौं । हामीले के पाएका छौं भने ब्याज धेरै चाहिन्छ भने फिक्स डिपोजिट खोल्न सक्नुहुन्छ । बचत अकाउन्टको तुलनामा फिक्स डिपोजिटमा आउँछ । बचत खातामा पनि हामीले धेरै नै ब्याजदर दिएका छौं । फिक्स्ड डिपोजिट जति पनि खोल्न पाउनुहुन्छ । बचत गर्ने हो भने फिक्स्ड डिपोजिट नै खोल्नुहोस् । हरेक महिना यति रकम बचत गर्छुभन्ने लाग्छ भने फिक्स्ड डिपोजिट नै दिन्छौं ।

अहिले १३ प्रकारका घागत रोगको पनि बीमा गरिएको छ, त्यसमा कोभिड पनि समेटिएको छ कि छैन ?
१३ प्रकारका घागत रोग भनेका छौं । त्यसमा कोभिड छैन । कोभिडको बीमामा अहिले अन्योल छ । कहिले दिने भन्छौं कहिले नदिने भन्ने छ । हामीले एकपटक दिने भनिसकेपछि नदिने भन्ने हुँदैन । अलिकति स्पष्ट भएपछि हामी पनि त्यसमा के गर्ने बिचार गर्छौ । हामीले दिने भनिसकेपछि ग्राहकले बीमा समितिले के भन्यो भन्ने अर्थ राख्दैनन् । बचत खाता खोल्ने सबैलाई यो बीमा पनि गरिएको छ । १३ घागत रोगका लागि न्यूनतम २५ हजार रुपैयाँ हुनुपर्छ । त्यसमा पनि निशुल्क डेबिट कार्ड र क्रेडिट कार्ड दिएका छौं । त्यसका लागि डेविट कार्डमा न्यूनतम पैसा राख्ने र क्रेडिट कार्ड दिँदा चलाइदिनुपर्छ । त्यसैले जे चाहिन्छ त्यही नै लिउँ । अब हामीले कार्डभन्दा पनि अगाडि बढ्नेमा पनि कुरा भइरहेको छ ।

अब आगामी दिनमा पनि जब डिजिटल प्रडक्ट ल्याउँदा त्यसको शुरुवात नै जेन-एन अकाउन्टबाट गर्छौ । किनभने युवाहरु नै हो जसले डिजिटल टेक्नोलोजीको कुरा बुझ्नुहुन्छ । यसमा अगाडि पनि हुनुहुन्छ । त्यसैले ढुक्क भएर जेन-एन अकाउन्ट खोल्नुहोस । यसमा अहिले दिएको सेवा मात्रै होइन आगामी दिनमा आउने प्रडक्टको सुविधा पनि पाउनुहुन्छ ।

भनेपछि अब नबिल बैंक प्रविधिको उच्चतम प्रयोग गरेर ग्राहकलाई डिजिटल सेवा दिने तयारीमा छ ?
निश्चिय पनि हामी आगामी दिनमा डिजिटल बैंकिङलाई क्याम्पेनका रुपमा अगाडि बढाउँछौं । यसअघि पनि नबिल बैंकले डिजिटल बैंकिङमा विभिन्न कामहरु गरेको थियो । हामीले आज सार्वजनिक गरेको जेन-एन अकाउन्ट त्यसैको एउटा स्वरुप हो । आगामी केही हप्ता वा महिनामा नबिल बैंकले डिजिटल बैंकिङका विभिन्न प्रडक्टहरु ल्याएर डिजिटल बैंकिङलाई बृहतरुपमा अगाडि बढाउँदै छौं ।


क्लिकमान्डु