साधारणसभाको मिति तोक्न उद्योग वाणिज्य महासंघले कार्यकारिणी बैठक बोलाउने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिती तय गर्नका लागि कार्यकारिणी समितिको बैठक बोलाउने भएको छ ।
भर्चुअल रुपमा बसेको महासंघको पदाधिकारीको बैठकमा महासंघको साधारणसभाको मिती तय गर्नको लागि कार्यकारिणीको बैठक बोलाउने निर्णय भएको छ । कार्यकारिणीको बैठक बोलाउनका लागि १५ दिनको सूचना चाहिन्छ ।
महासंघको बैठकमा बिशिष्ट सदस्य चण्डिराज ढकाल तथा चन्द्र ढकाल र उमेशलाल प्रधानले महासंघको साधारणसभाको बैठकको मिति तोक्नुपर्ने बताएका थिए ।
असारभित्र साधारणसभा नभएमा महासंघको वैधानिकता सकिने विषयमा सचेत हुन आग्रह थियो ।
बैठकमा जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले पूर्व अध्यक्ष चण्डीराज ढकालले महासंघ अध्यक्षलाई लगाएको आरोपको विषयमा गम्भीर आपत्ति व्यक्त गर्दै यसले महासंघको छवी खराब हुने बताएका थिए ।
ढकालले केहीदिन अगाडि क्लिकमाण्डूसँगको कुराकानीमा महासंघ अध्यक्ष भवानी राणाले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका थिए ।
विधानअनुसार महासंघको नियमित साधारणसभा चैत २७ र २८ मा काठमाडौंमा हुने थियो । कोरोना भाइरसको कारण अनिश्चितकालका लागि महासंघको साधारणसभा स्थगित भएको छ ।
महासंघको साधारणसभाबाट बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन् । बरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।