कांग्रेसको पूर्वाधार तथा रोजगार समिति प्रदेशगत छलफलमा जुट्यो, प्रदेशको प्राथमिकताको बारेमा छलफल
नेपाली कांग्रेस, लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिले कोभिड १९ कारण अर्थतन्त्रमा परेको असर र प्रदेशको आगामी आर्थिक बर्ष २०७७÷७८ को बजेटका उदेश्य र लिनु पर्ने प्राथमिकताका बारेमा एवं आगामी दिनमा देशको लगानी, पूर्वाधार र रोजगारका क्षेत्रमा लिइनु पर्ने नीतिका बारेमा सवै प्रदेशका सदस्यहरु र उद्योगी व्यवसायीहरुसँग छलफल गरेको छ ।
छलफल कार्यक्रमको सुरु गर्दै विशेष समितिका संयोजक तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले यो विशेष समितिले कोभिड १९ का कारण समस्यामा परेको अर्थतन्त्रलाई पुनःउत्थान गर्न संघीय सरकार र प्रदेश सरकारले लिनु पर्ने नीति र आगामी आर्थिक बर्षको बजेटमार्फत् सम्बोधन गरिनुपर्ने बिषयमा प्रकाश पारे । सोही उदेश्यले प्रदेश सभाका सदस्यहरु र उद्योग व्यवसायसँग सम्ंवन्धित सबै पक्षसँग निरन्तर छलफल आयोजना गरिएको जानकारी दिए ।
उनले कोभिड १९ का कारण अबका दिन उद्यमी व्यवसायीका लागि सहज नुहने भन्दै त्यसको असर कम गर्न लागि हामी सबैको सामुहिक प्रयास जरुरी भएको वताए ।
कोभिड १९ ले हाम्रो जीवनसैलीमा आउने परिवर्तन, व्यवसाय सञ्चालनमा हामीले सोच्नुपर्ने नविनतम उपायहरु र प्रमुख विपक्षीको रुपमा प्रदेश सभामा हामीले खेल्नुपर्ने भूमिका बारेमा विस्तृत चर्चा गरेका थिए ।
कार्यक्रममा समितिका सहसंयोजक उमेश श्रेष्ठले अब पनि व्यवसाय निर्वाध सञ्चालन गर्न नसके अर्को वर्षको आर्थिक वृद्धिदर ऋणात्मक हुने बताए ।
संघीय वजेटले स्वास्थ्य, शिक्षा र कृषिलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न असफल हुँदा त्यसको असर प्रदेश बजेटमा पर्ने चिन्ता उनले प्रकट गरे ।
कार्यक्रममा विशेष समितिका सहसंयोजक पूर्व मन्त्री दीपक खड्काले यो समिातिले उद्योगी व्यवसायी र राजनैतिक नेताहरुको वीच पुलको काम गर्ने वताए ।
विशेष समितिका सहसंयोजक इन्द्र वानियाले आवत जावतको कठिनाईले व्यापारमा धेरै घाटा भएको र अब व्यवसायीहरु घाटा सहन नसक्ने वताए ।
समितिका सदस्यहरु अनिल रुंगटा, छत्र गिरी र खगेश्वर वोहोराले विभिन्न प्रदेशको कार्यक्रम संयोजन गर्दै सबैका विचारहरुमा टिप्पणी गरेका थिए ।
संघीय सरकारको २०७७÷०७८ को नीति तथा कार्यक्रम, वजेट र आगमी दिनमा मौद्रिक नीतिमा उद्यमी व्यवसायीका चासोका बारेमा समितिका तर्फवाट सबैलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरुले आफ्नो प्रदेशमा कोभिड १९ ले पारेको प्रभाव, प्रदेशको आगामी वर्षको बजेटले समेट्नुपर्ने विषय, प्रदेशको मुहार फेर्ने आयोजनाका बारेमा आफ्नो आफ्नो धारणा व्यक्त गरे ।
सवैजसो प्रदेशका सहभागीहरुले अबका दिनमा लामो लकडाउनका कारण कोभिड १९ का कारणले भन्दा अरु रोगले धेरैको ज्यान गएको, आत्महत्याको दर बढेको, सुत्केरी मृत्युदर भयाभह भएको विचार राखेका थिए । यसैगरी लकडाउन बढ्दै गएमा कोभिड १९ ले भन्दा भोकले धेरैको ज्यान जाने चिन्ता सहभागीहरुको थियो ।
प्रदेश १ का सहभागीहरुले उद्योग धन्दा बन्द रहेको, मेची र विराटनगर नाकाबाट निर्वाध नागरिकहरुको आगमन रहेकोले ठुलो जोखिम रहेको कुरा बताए । विराटनगर करिडोरमा मात्रै ५ सय उद्योग बन्द हुँदा ९० हजारको रोजगारी जोखिममा रहेको तथ्यांक प्रस्तुत गरेका थिए । अब विदेशबाट आउने युवाहरु श्रमिक नभई नेपालमा श्रम गर्न नचाहेर विदेश गएर मालिक वन्न चाहेका नेपाली भएको उल्लेख गर्दै उनीहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण रहको सहभागीहरुको विचार थियो ।
प्रदेश १ को कार्यक्रममा उद्यमीहरु महेश जाजु, उदय चापागाईं, नरेन्द्र कुमार खड्का, सुबोध कोइराला, अविनास बोहोरा र वीरेन्द्र साहले भाग लिएका थिए ।
प्रदेश सभाका सदस्यहरु विन्दिया कार्की, केदार कार्की, ओम प्रकाश सरावगी, शेखर चन्द्र थापा, नवोदिता चौधरी, र राजिव कोइरालाले आफ्ना आफ्ना धारणा राखेका थिए ।
प्रदेश २ का सहभागीहरुले प्रदेशको भौतिक पूर्वाधार अत्यन्त नाजुक छ, सिमानाबाट हजारौंको संख्यामा नेपालीहरुको दैनिक प्रवेश भइरहेको तर उनीहरुको व्यवस्थापन गर्न नसकिएकोले पुरै प्रदेश आतंकित छ भन्ने विचार सहभागीहरुको रह्यो । देशमा सबैभन्दा धेरै उद्योग रहेको यो प्रदेशमा सबैभन्दा धेरै समस्या पनि यहीं रहेको उल्लेख गर्दै सहभागीहरुले अबको बजेटले यी समस्या समाधानका उपायहरुका ध्यान दिने आशा व्यक्त गरे ।
प्रदेश २ को कार्यक्रममा कांग्रेस महासमिति सदस्य डा. सुभाष चन्द्र यादव, व्यवसायी अशोक वैद्यले आफ्नो आफना् धारणा व्यक्त गरे । प्रदेश सभाका सदस्यहरु शोभा लामा, वीरेन्द्र सिंह, शंकर चौधरी, सुरेन्द्र चौधरी, गीता यादव र राजेश्वर शाह र रामसरोज यादवले प्रदेश सरकारका वजेटका अब हुनुपर्ने प्राथमिकताका बारेमा प्रकाश पारे ।
वागमती प्रदेशका सहभागीहरुले काठमाण्डौं हेटौंडा सुरुंग मार्गले यो प्रदेश र पुरै देशको मुहार परिवर्तन गर्ने वताउँदै अहिले कामदार र उद्योगलाई उत्पादन र वितरणसँग मात्रै जोडेर नपुग्ने बताए । साना व्यवसाय डुवे ठुला चन्न नसक्ने हुँदा अबको दिन मागमा केन्द्रित हुने र त्यो कठिन हुने उनीहरुको विचार थियो । यो प्रदेशले आगमी बर्ष पूर्वाधारमा धेरै खर्च गर्नुपर्नेमा सहभागीहरुको एकमत थियो ।
वागमती प्रदेशको कार्यक्रममा व्यवसायीहरु लेखराज पोखरेल, अमिर राणा र निर्मला पण्डितले भाग लिएका थिए । प्रदेश सभाकासदस्यहरु विजुला वर्मा, छिरिंग दोर्जे लामा, प्रभात तामांग, निमा लामा र राधा घलेले आफ्ना आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र वानियाँले यो विशेष समितिले उद्यमी व्यापारी, प्रदेश सरकार र मजदुरका समस्या समाधानका लागि कार्य गर्ने वताए ।
गण्डकी प्रदेशको कार्यक्रमका सहभागीहरुले यो कोभिड १९ सत्ताधारी पार्टीहरुका लागि अबसर भएको तर उद्योग धन्दाका लागि अभिषाप भएको वताए । पर्यटन उद्योगको मेरुदण्ड यो प्रदेश कोभिड १९ का कारण त्रसित भएको सहभागिहरुको भनाई थियो ।
गण्डकी प्रदेशको कार्यक्रममा व्यवसायी आनन्द राज मुल्मीले आफ्ना विचारहरु प्रस्तुत गरे । प्रदेश सभाका सदस्यहरु प्रकाश दवाडी, मेखलाल श्रेष्ठ, ओमकला गौतम, विष्णु लामिछाने, मन कुमारी गुरुंग र कृष्ण चन्द्र नेपालीले आफ्ना आफ्ना विचार मार्फत आगामी बजेट मार्फत सरकारले सम्बोधन गर्नुपर्ने विषयहका बारेमा बोलेका थिए ।
कार्यक्रममा समितिका सदस्य सूर्य वहादुर केसीले अवका दिनमा नेपाली श्रम वजारमा दक्ष श्रमिकको अभाव हुनेहुँदा त्यसको प्रभाव उत्पादन र लागतमा पर्ने बताए ।
प्रदेश पाँचको कार्यक्रममा सहभागी हुँदै सहभागीहरुले यो प्रदेश देशको खाद्य भण्डार र वुद्धको जन्मभूमी भएकोले कृषि र पर्यटन यसको विकासका आधार हुन् भन्ने विचार व्यक्त गरे । अहिले कोभिड १९ को सबैभन्दा धेरै असर यही प्रदेशमा परेकोले त्यसको असर कम गर्ने नीति आगामी बजेटले लिनुपर्ने यो प्रदेशका सहभागीहरुको रह्यो ।
यो प्रदेशको कार्यक्रममा व्यवसायीहरु गोपाल अधिकारी, सतिस अग्रवाल र खुबरुद्धिन खाँले भाग लिएका थिए । प्रदेश सभाका माननीय सदस्यहरु अष्टभूजा पाठक, निर्मला क्षेत्री, वीरवहादुर राना, सुरेन्द्र हमाल र वीरेन्द्र कनौडियाले आफ्ना विचारहरु व्यक्त गरे ।
कर्णाली प्रदेशको कार्यक्रमका सहभागीहरुले यातायातको समस्या नै कणाएलीको विकासको अबरोध भएकोमा एक स्वरले वर्णन गरे । महत्वपूर्ण जडिबुटि देखि लिएर राराताल सम्मको यो क्षेत्रको वजेटले कनेक्टिभिटीमा ध्यान दिनुपर्ने सहभागीहरुको विचार रह्यो ।
यो प्रदेशको कार्यक्रममा व्यवसायी तथा समितिका सदस्य विष्णु वहादुर खड्का र व्यवसायी हर्ष बहादुर खड्काले आफ्ना विचार प्रस्तुत गरे भने प्रदेश सभाका सदस्य जीवन शाहीले विस्तृतमा प्रदेश विकासको खाका वर्णन गरे ।
सुदुर पश्चिम प्रदेशको छलफल कार्यक्रमका सहभागीहरुले नेपाल भारत सीमावाट आएका नेपालीहरुको जाँच राम्रो नहुदा कोरोनाको स्थिति भयावह भएको बताए । ५० प्रतिशत जनसंख्या गरिवीको रेखा मुनी रहेको यो प्रदेशमा कोभिड १९ का कारण यो संख्या अझैं बढ्न जानाले अबका दिन रोजगारी केन्द्रित कार्यक्रम ल्याउनुको विकल्प नरहेको विचार व्यक्त गरे ।
सुदुर पश्चिम प्रदेशको कार्यक्रममा व्यवसायीहरु माधव भट्ट र कृष्ण राज पाठकले आफ्ना राखे । प्रदेश सभाका माननीय सदस्यहरु अम्विका थापा, गोविन्द बोहोरा, नन्दा वम, भरत खड्का र रण वहादुर रावलले कोभिडका कारण उत्पन्न समस्याका बारेमा आफ्नो धारणा राखे । कार्यक्रममा पर्शुराम नगरपालिकाका मेयर भीम वहादुर साउदले अहिलेको जटिल स्थितिको स्थलगत विवरण वर्णन गरे ।
विशेष समितिले कार्यक्रमको छलफलमा उठेका सबै विषयहरु समेटेर विस्तृत प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनले प्रदेशहरुले आगामी आर्थिक बर्षका लागि ल्याउन लागिएको बजेटमा सम्वन्धित प्रदेशका जनताका समस्या सम्बोधन गर्न मार्गनिर्देश गर्नेछ ।