कर तिर्ने समय थप्न अर्थमन्त्रालय तयार, व्यवसायीसँग भयो सहमति



काठमाडौं । जेठ २५ भित्र अनिवार्य कर तिर्न ताकेता गरेको अर्थमन्त्रालयल समय पछाडि सार्न सहमत भएको छ । निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा अर्थ र राजस्व सचिवलाई भेट्न उद्योग वाणिज्य महासंघको टोली अर्थमन्त्रालय गएको थियो ।

अर्थसचिव ढुंगानाले राजस्व तिर्नको लागि अनिवार्य नगर्ने तर, तिर्न सक्नेलाई तिराउने विषयमा निजी क्षेत्रसँग सहमति गरेका छन् ।

मंगलबार आन्तरिक राजस्व विभागले बक्यौता कर जेठ २५ सम्म बुझाउन सूचना जारी गरेको थियो । अर्थमन्त्रीको निर्देशनमा कर उठाउन सूचना जारी भएपछि यसको चर्को चौतर्फी विरोध संजालमा भएको थियो ।

‘आजै एक सूचना प्रकाशित गरेर जेठ २५ मा कर नतिर्दापनि जरिवाना नलाग्ने व्यवस्था गर्ने आश्वासन सचिवज्यूले दिनु भएको छ,’महासंघ अध्यक्ष भवानी राणाले क्लिकमाण्डूसँग भनिन् ।

यस्तो अवस्थामा कर तिर्नेलाई निश्चित प्रतिशत रकम सहुलियत दिने हो भने कर तिर्न सक्नेहरुले कर तिर्ने र त्यसले राज्यको आम्दानी बढ्ने सुझाव महासंघले दिएको छ ।
सरकारले चैत ११ देखि गरेको लकडाउनपछि राजस्व तिर्ने समयलाई पछाडि सारेको थियो । राजस्व तिर्ने पछिल्लो समयसिमा जेठ २५ मा सकिने थियो ।


पुष्प दुलाल