व्यवसायीसँग उपप्रधानमन्त्रीले भने- अर्थमन्त्रीसँग कुरा गरेर कर तिर्न सहज बनाउँछु



काठमाडौं । उपप्रधानमन्त्री इश्वर पोखरेलले अर्थमन्त्री युवराज खतिवडासँग कुरा गरेर कर तिर्नका लागि सहज वातावरण वनाउने बताएका छन् । मंगलबार दिउँसो आधा दर्जन उद्योगीसँगको भेटमा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

मंगलबार मात्रै अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले यही जेठ २५ गतेभित्र कर तथा भ्याट तिर्नका लागि सार्वजनिक सूचना नै प्रकाशन गरेको थियो । जेठ ३२ गतेसम्म लकडाउन रहेको अवस्थामा जेठ २५ गते कर तिर्न नसक्ने भन्दै व्यवसायीहरुले चर्को विरोध गरिरहेका छन् ।

उपप्रधानमन्त्री पोखरेलसँगको भेटमा व्यवसायीहरुले जेठ २५ गते अधिकांश उद्योगी व्यवसायीले कर तिर्न नसक्ने जानकारी गराउँदै कम्तिमा असार मसान्तसम्म समय थप गर्न अग्रह गरे ।

‘करको विषय अर्थ मन्त्रालयको हो, म अर्थमन्त्री युवराज खतिवडाजीसँग कुरा गरेर कर तिर्नका लागि सहजिकरण गर्छु,’ उपप्रधानमन्त्री पोखरेलको भनाइ उदृत गर्दै छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले क्लिकमाण्डूसँग भने, ‘उपप्रधानमन्त्रीज्यू हाम्रा मागप्रति अन्यत्नै सकरात्मक हुनुहुन्छ ।’

व्यवसायीहरुले लकडाउन खुकुलो नबनाए जिल्लाजिल्लाबाट आन्दोलन शुरु हुने जानकारी पनि मन्त्री पोखरेललाई गराएका थिए । व्यवसायीका कुरा सुनेर आफ्नो डायरीमा टिपेका उपप्रधानमन्त्री पोखरेलले धेरै आश्वासन भने नदिएके नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले जानकारी दिए ।

‘उहाँले हाम्रा कुरा गंभीरतापूर्वक सुन्नुभयो, आफ्नो डायरीमा टिप्नुभयो,’ मोरले भने, ‘आफू संयोजक रहेको कोरोना रोकथाम तथा उपचार उच्च स्तरीय समितिले लकडाउन केही खुकुलो बनाउन सिफारिस गर्ने आश्वासन दिनुभयो ।’

उपप्रधानमन्त्री पोखरेलले निजी सवारीसाधनलाई पनि केही खुकुलो बनाउने आश्वासन दिए ।

महासंघ उपाध्यक्ष प्रधानका अनुसार जेठ २५ गते व्यवसायीहरुले कुनै पनि हालतमा कर तिर्न सक्दैनौं, सरकारले जे गर्छ हामी भोग्छौं भनेर व्यवसायीहरुले भनेका थिए ।

‘पहिला उद्योग व्यवसाय खोल्न दिनुहोस्, त्यसपछि मात्रै करका कुराहरु गर्नुहोस् भनेका छौं, सरकारले मानेन भने हामी आन्दोलनमा जान बाध्य हुने छौं,’ प्रधानले भने ।

उपप्रधानमन्त्री पोखरेलललाई भेट्न उद्योग वाणिज्य महासंकी अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोर, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष शतिस मोरलगायतका व्ययसायीहरु गएका थिए । दिउँसो १ बजेदेखि शुरु भएको छलफल साढे ३ बजेसम्म भएको थियो ।

हामीले प्रक्रियागतरुपमा जानुपर्ने हुन्छ भोलिसम्ममा तपाईंहरुका माग सम्बोधन हुनेगरी निर्णय गर्छौं भनेर उपप्रधानमन्त्री पोखरेलले आश्वासन दिएको उपाध्यक्ष प्रधानले जानकारी दिए ।


पुष्प दुलाल